images
images
  • विश्व दिगो यातायात दिवस आज, सुरक्षित र वातावरणमैत्री यातायातमा जोड

    काठमाडौं – विश्व दिगो यातायात दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । दिवसका अवसरमा दिगो विकासका लक्ष्य हासिल गर्न सुरक्षित, सुलभ र वातावरणमैत्री यातायात प्रणालीको महत्त्वमा जोड दिइएको छ ।

    यातायातले मानिस तथा वस्तुको आवागमन सहज बनाउनुका साथै व्यापार, आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । तर, यातायात क्षेत्रबाट हुने हरितगृह ग्यास उत्सर्जन र वातावरणीय प्रदूषण चुनौतीका रूपमा देखिएका छन् । आर्थिक विकास र वातावरण संरक्षणबीच सन्तुलन कायम गर्नु दिगो यातायातको प्रमुख आवश्यकता मानिएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार दिगो यातायात दिगो विकासका लक्ष्य हासिल गर्ने महत्त्वपूर्ण माध्यम हो । यसले गरिबी न्यूनीकरण, असमानता घटाउने, महिला सशक्तीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत योगदान पुर्‍याउँछ । दिगो यातायातको अवधारणाले सबै नागरिकका लागि पहुँचयोग्य यातायात सेवा, सडक सुरक्षा, वातावरणीय प्रभाव न्यूनीकरण, विपद् प्रतिरोधी क्षमता अभिवृद्धि र यातायात प्रणालीको कार्यक्षमता सुधारलाई प्राथमिकता दिएको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिवको उच्चस्तरीय सल्लाहकार समूहले सन् २०१६ मा सार्वजनिक गरेको प्रतिवेदनमा दिगो यातायातलाई वर्तमान र भावी पुस्ताको हित हुने गरी मानिस तथा वस्तुको आवागमनका लागि सुरक्षित, सुलभ, पहुँचयोग्य, प्रभावकारी र वातावरणीय असर कम गर्ने सेवा तथा पूर्वाधारको व्यवस्थाका रूपमा परिभाषित गरेको थियो । राष्ट्रसङ्घले दिगो यातायातलाई दिगो विकासका अन्य लक्ष्य हासिल गर्न सहयोग पुर्‍याउने महत्त्वपूर्ण आधारका रूपमा लिएको छ ।

    तस्बिरः संयुक्त राष्ट्रसङ्घ

    प्रतिक्रिया दिनुहोस्
    images
    images