काठमाडौं– यमनको हुथी विद्रोही समूहले साउदी अरबको लालसागर तटमा रहेको जिजान बन्दरगाहमा आक्रमण गरेको छ ।
यमनको ताइज सहरनजिकै सरकारी सेना र हुथी विद्रोहीबिचको लडाइँ तीव्र भइरहेका बेला उक्त आक्रमण भएको हो ।
साउदी अरबको नेतृत्वमा रहेको सैन्य गठबन्धनले बुधवार जिजान बन्दरगाहमा हुथी विद्रोहीले गरेको आक्रमणबाट सामान्य क्षति पुगेको र कुनै पनि सर्वसाधारणको ज्यान नगएको जनाएको छ ।
गठबन्धनले जारी गरेको वक्तव्यमा आक्रमणमा प्रयोग गरिएको हतियार वा प्रक्षेप्यास्त्रको प्रकार पहिचान गर्ने प्रयास भइरहेको उल्लेख छ ।
गठबन्धनका प्रवक्ता तुर्की अल मलिकीले पछि सामाजिक सञ्जाल एक्समार्फत अर्को वक्तव्य जारी गर्दै साउदी अरबको जेद्दा बन्दरगाहमाथि हुथी विद्रोहीले पठाएको ड्रोन आफ्ना सेनाले बिचमै रोकेर नष्ट गरेको बताए ।
ड्रोन खसालिएपछि त्यसका टुक्रा झर्दा कुनै पनि सर्वसाधारण घाइते नभएको उनले जानकारी दिए ।
गठबन्धनको वक्तव्य सार्वजनिक भएपछि यमनको राजधानी सानामा विस्फोटको आवाज सुनिएको अलजजिराका संवाददाता नबिल अल युसुफीले बताएका छन् ।
त्यसपछि साउदी नेतृत्वको सैन्य गठबन्धनले हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेका ब्यालिस्टिक क्षेप्यास्त्रलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले बिचमै रोकेर नष्ट गरेको जनाएको छ ।
राजधानीलाई लक्षित गरी गरिएको पछिल्लो आक्रमणको प्रयासभन्दा एक दिनअघि मंगलबार हुथी विद्रोहीले रियादको वित्तीय क्षेत्रमा रहेको एउटा अग्लो भवनमा ड्रोन आक्रमण गरेका थिए ।
उक्त घटनामा कम्तीमा ११ जना घाइते भएका थिए ।
पछिल्ला घटनाले इराननिकट हुथी विद्रोही र साउदी अरबबिचको द्वन्द्व थप चर्किएको सङ्केत गरेका छन् ।
दुवै पक्षबाट विमानस्थल, ऊर्जा पूर्वाधार तथा अन्य नागरिक र आर्थिक संरचनालाई लक्षित गरी आक्रमण भइरहेका छन् ।
साउदी अरबका बन्दरगाहमाथि भएका आक्रमण यमनको हुथी समर्थित अल मसिरा टेलिभिजनले होदेइदाह बन्दरगाहमा साउदी अरबले पुनः आक्रमण गरेको समाचार प्रसारण गरेपछि भएका हुन् ।
यसअघि बुधवार हुथी विद्रोहीले होदेइदाह बन्दरगाहमाथि आक्रमण गरिए साउदी अरबका बन्दरगाहलाई निशाना बनाउने चेतावनी दिएका थिए ।
यमनको राजधानी सानाबाट रिपोर्टिङ गर्दै अलजजिराका संवाददाता युसुफ मावरीले भने, “यमनमा आयात हुने कुल सामानमध्ये ९० प्रतिशत होदेइदाह बन्दरगाहबाट भित्रिन्छ । यदि यो बन्द भयो भने मानवीय अवस्था पूर्ण रूपमा सङ्कटको अवस्थामा पुग्न सक्छ ।”
उनले थपे, “होदेइदाह बन्दरगाहमा साउदी अरबले पछिल्लो समय गरेका केही आक्रमणमा सामान भण्डारण गर्ने ट्याङ्की तथा मालसामान जहाजमा चढाउन र झार्न प्रयोग हुने क्रेनहरूलाई निशाना बनाइएको छ ।”
यमनमा भीषण लडाइँ
अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनको सरकारी सेनाले विभिन्न मोर्चामा हुथी विद्रोही विरुद्ध लडाइँ जारी राखेको छ ।
यमनी सेनाका प्रवक्ताका अनुसार बुधवार हुथी समूहलाई लक्षित गरी ६५४ वटा आक्रमण गरिएको छ ।
अलजजिराकी संवाददाता महा अलीका अनुसार पछिल्लो समय यमनको पश्चिमी मोर्चामा सबैभन्दा बढी हवाई आक्रमण भएका छन् ।
उनले ताइजबाट रिपोर्टिङ गरेकी छन् ।
सरकारी सेनाले ताइज सहरको पश्चिमी क्षेत्रमा रहेका हुथी विद्रोहीका अखडालाई लक्षित गरी हवाई आक्रमण गरिएको जनाएको छ ।
महा अलीका अनुसार, “यी आक्रमण करिब ७२ घण्टादेखि निरन्तर जारी रहेको तीव्र हवाई आक्रमणको शृङ्खलाको हिस्सा हुन् ।”
उनले थपिन्, “ताइजको मध्य भागलाई नियाल्न सकिने सबैभन्दा महत्त्वपूर्ण पर्वतीय शृङ्खलामा विशेष ध्यान केन्द्रित गरिएको छ । त्यसमा जबल साबेर र यसको सबैभन्दा अग्लो चुचुरो जबल अल अरुस पर्छन् । सरकारी पक्षका अनुसार हुथी विद्रोहीले यो रणनीतिक महत्त्वको चुचुरो कब्जा गर्न चाहेका छन् ।”
यता, हुथी विद्रोहीले भने बुधवार साना र अन्य १० वटा प्रान्तमा रहेका नागरिक संरचनालाई लक्षित गरी साउदी नेतृत्वको गठबन्धनले १०५ वटा हवाई तथा क्षेप्यास्त्र आक्रमण गरेको दाबी गरेका छन् ।






















