काठमाडौं– अमेरिकी नियामक निकायले अन्तरिक्षमा डेटा सेन्टर निर्माण गर्ने उद्देश्यले पृथ्वीको कक्षमा १० लाख स्याटलाइट प्रक्षेपण गर्न स्पेसएक्सलाई अनुमति दिएको छ । यस प्रकारको परियोजनालाई अनुमति दिइएको यो पहिलो घटना हो ।
अर्बपति एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सले सूर्यको प्रकाशबाट ऊर्जा प्राप्त गर्ने स्याटलाइट प्रयोग गरी अन्तरिक्षमै कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी तथ्यांक प्रशोधन गर्ने र त्यसबाट प्राप्त नतिजा पृथ्वीमा पठाउने योजना बनाएको छ ।
अमेरिकी सङ्घीय सञ्चार आयोग (एफसीसी) ले बुधबार ‘स्टार माइन्ड’ नाम दिइएको यस परियोजनाले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको सुपर इन्टेलिजेन्स अर्थतन्त्रलाई सहयोग पुर्याउने जनाएको छ ।
अमेरिकाका विभिन्न समुदायले जमिनमा डेटा सेन्टर विस्तार गर्ने योजनाको विरोध गरिरहेका बेला परियोजनाले स्वीकृति पाएको हो । स्पेसएक्सका अनुसार बढ्दो एआई कम्प्युटिङ क्षमताको माग पूरा गर्न ‘अन्तरिक्षमा आधारित डेटा सेन्टर’ सबैभन्दा कम लागत र ऊर्जा खपत हुने प्रभावकारी उपाय हो। कम्पनीले यो माग पृथ्वीमा उपलब्ध पूर्वाधारको क्षमताभन्दा बाहिर पुगिरहेको जनाएको छ ।
एफसीसीका अध्यक्ष ब्रेन्डन कारले विज्ञप्तिमा भने, ‘यो परियोजनाले अमेरिकाको नेतृत्व र आर्थिक विकासलाई अघि बढाउन आवश्यक कम्प्युटिङ पूर्वाधारका लागि एउटा नयाँ र साहसिक सम्भावनाको ढोका खोल्छ ।’
उनले थपे, ‘यो अमेरिकी सृजनशीलताको त्यस्तो उदाहरण हो, जसले अन्तरिक्ष र अत्याधुनिक प्रविधिमा रहेका हाम्रा क्षमतालाई एकै ठाउँमा ल्याउन, आर्थिक नेतृत्वलाई बलियो बनाउन र देशभित्र समृद्धि विस्तार गर्नसक्छ ।’
घोषणाप्रति प्रतिक्रिया दिँदै मस्कले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘धेरै धन्यवाद। यो अमेरिका र विश्वका लागि ठुलो सम्पत्ति साबित हुनेछ।’
एफसीसीबाट प्राप्त अनुमतिअनुसार स्पेसएक्सले सन् २०३३ को नोभेम्बरसम्ममा स्याटलाइट प्रक्षेपण सुरु गरिसक्नुपर्नेछ। त्यस्तै सन् २०३५ को नोभेम्बरसम्ममा कुल स्वीकृत स्याटलाइटमध्ये १० प्रतिशत र सन् २०३८ को नोभेम्बरसम्ममा ५० प्रतिशत प्रक्षेपण गरिसक्नुपर्नेछ ।
कम्पनीले भने अर्को वर्ष नै पहिलो स्टार माइन्ड स्याटलाइट प्रक्षेपण गर्ने योजना यसअघि सार्वजनिक गरिसकेको छ । वास्तवमै १० लाख स्याटलाइट प्रक्षेपण गरिने हो वा स्पेसएक्सले आवश्यकताभन्दा बढी सङ्ख्याका लागि अनुमति मागेको हो भन्ने स्पष्ट भइसकेको छैन ।
स्पेसएक्सको हाल सञ्चालनमा रहेको स्टार लिङ्क नेटवर्कले १० हजारभन्दा बढी स्याटलाइटमार्फत उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । त्यस्तै, स्टारमाइन्डका स्याटलाइट पनि पृथ्वीको तल्लो कक्ष (लो अर्थ अर्बिट) मा रहनेछन्। ती स्याटलाइट पृथ्वीबाट ५०० देखि २ हजार किलोमिटर (३१० देखि १ हजार २४२ माइल) उचाइमा सञ्चालन हुनेछन् ।
स्टारमाइन्डका स्याटलाइटले स्टार लिङ्कका स्याटलाइटसँग सञ्चार गर्नेछन् र त्यसपछि प्रशोधित तथ्यांक पृथ्वीमा पठाउनेछन् एफसीसीको विज्ञप्तिमा सौर्य ऊर्जाबाट सञ्चालन हुने यो स्याटलाइट प्रणालीले ‘मानव सभ्यतालाई कार्दाशेभ दोस्रो स्तरको सभ्यताको नजिक पुर्याउने’ उल्लेख छ। यस्तो सभ्यताले आफ्नो मूल ताराबाट प्राप्त हुने सम्पूर्ण ऊर्जा उपयोग गर्न सक्ने क्षमता राख्छ ।
सन् १९६० को दशकमा एक खगोलशास्त्रीले प्रस्ताव गरेको काल्पनिक अवधारणालाई यहाँ कार्दाशेभ दोस्रो सभ्यता भनिएको हो ।
अन्तरिक्षमा डेटा सेन्टर बनाउने प्रतिस्पर्धा
अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने अवधारणाबारे गुगल र ब्लु ओरिजिनलगायत अन्य कम्पनीले पनि अध्ययन गरिरहेका छन् । पारम्परिक डेटा सेन्टरको तुलनामा यसलाई वातावरणमैत्री विकल्पका रूपमा प्रस्तुत गरिएको छ । जमिनमा रहेका डेटा सेन्टर सञ्चालन गर्न ठुलो मात्रामा विद्युत् र उपकरण चिस्याउन प्रशस्त पानी आवश्यक पर्छ ।
एआई कम्प्युटिङको प्रयोग निरन्तर विस्तार हुँदा विश्वभर भण्डारण र प्रशोधन गर्नुपर्ने तथ्याङ्कको परिमाण पनि तीव्र रूपमा बढिरहेको छ । यसका लागि नयाँ डेटा सेन्टरहरू निर्माण भइरहेका छन् । तर यस्ता संरचना स्थापना गर्न उपयुक्त स्थान खोज्न कठिन हुँदै गएको छ ।
डेटा सेन्टरहरू ठुलो क्षेत्रफलमा फैलिएका हुन्छन् । तिनलाई सञ्चालन गर्न अत्यधिक विद्युत् र चिस्याउन ठुलो मात्रामा पानी चाहिन्छ । त्यसैले पछिल्लो समय स्थानीय बासिन्दाले आफ्नो आसपासमा यस्ता संरचना निर्माण गर्न नदिन विरोध गरिरहेका छन् ।
नोभेम्बरको सुरुवातमा भएको अमेरिकी मध्यावधि निर्वाचनमा पनि डेटा सेन्टरको विषय प्रमुख मुद्दामध्ये एक बनेको थियो । धेरै डेमोक्रेटिक उम्मेदवारले यस्ता संरचना निर्माणमा कडा नियमन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसअघि एक विज्ञले कुरा गर्दै अन्तरिक्षमा उपकरण प्रक्षेपण गर्नु अझै महँगो रहेको बताएका थिए । त्यस्ता उपकरणको सुरक्षा, तापक्रम नियन्त्रण र ऊर्जा आपूर्तिका लागि आवश्यक पूर्वाधार व्यवस्थापन पनि जटिल हुने उनको भनाइ थियो ।
त्यसका साथै अन्तरिक्षमा बढ्दै गएको फोहोरले उपकरणहरूलाई भौतिक क्षति पुग्ने जोखिमसमेत रहेको उनले बताएका थिए ।
अर्का एक विज्ञले पृथ्वीको तल्लो कक्षमा स्याटलाइट तथा अन्य अन्तरिक्ष यानको सङ्ख्या बढ्दै जाँदा तिनीहरू आपसमा ठोक्किने सम्भावना पनि बढ्ने चेतावनी दिएका थिए । यस्तो दुर्घटनाले उपकरणमा क्षति पुर्याउन वा तिनका टुक्रा पृथ्वीमा खस्न सक्ने जोखिम हुन्छ ।
यसअघि पनि स्टारलिङ्कले अन्तरिक्षमा अत्यधिक भिडभाड सिर्जना गरेको आरोप खेप्दै आएको छ । मस्कले भने उक्त आरोप अस्वीकार गर्दै आएका छन् ।
उनले आफ्ना स्याटलाइटले अन्तरिक्षमा अत्यधिक स्थान ओगटेको र प्रतिस्पर्धी कम्पनीहरूलाई सञ्चालन गर्न कठिन बनाएको भन्ने दाबीसमेत अस्वीकार गरेका छन् ।
-एजेन्सी/वासिङ्टन






















