गाजा– गाजामा इजरायलले ड्रोन, हेलिकप्टर र लडाकु विमानमार्फत आक्रमण तीव्र पारेपछि पछिल्लो २४ घण्टामा कम्तीमा १६ जना प्यालेस्टिनीको मृत्यु भएको छ । बिहीबार बिहानै मध्य गाजाको देर अल–बलाह क्षेत्रमा इजरायली अपाचे हेलिकप्टरले कुनै पूर्वचेतावनीबिना आवासीय भवनमा लगातार दुईवटा क्षेप्यास्त्र प्रहार गर्दा दुई जनाको मृत्यु भएको छ । आक्रमणमा केही व्यक्ति घाइते भएका छन् ।
शरणार्थी शिविरको प्रवेशद्वार नजिकै रहेको उक्त अपार्टमेन्टमा क्षेप्यास्त्र प्रहारपछि आगलागी भएको थियो । उद्धारमा खटिएका नागरिक सुरक्षा टोलीले आगोले जलेका दुई शव फेला पारेका छन् । उनीहरूको पहिचान खुल्न सकेको छैन । घाइतेहरूलाई शुहदा अल–अक्सा अस्पताल पुर्याइएको छ । तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । भग्नावशेषमा अन्य व्यक्ति फसेको हुन सक्ने आशंकामा उद्धारकर्मीले खोजी जारी राखेका छन् ।
आक्रमण भएको क्षेत्र बाक्लो बस्ती भएको स्थान हो । त्यहाँका घर तथा सडकछेउका अस्थायी टेन्टमा विस्थापित परिवारले आश्रय लिइरहेका थिए । यसैगरी, गाजा सहरको शाती शरणार्थी शिविरमा इजरायली ड्रोन आक्रमणबाट तीन प्यालेस्टिनीको मृत्यु भएको छ । दराज क्षेत्रमा भएको अर्को आक्रमणमा पनि तीन जनाले ज्यान गुमाएका छन् ।
विस्थापित परिवारले आश्रय लिइरहेका अत–तुवाम र जबालियाका टेन्टलाई समेत लक्षित गरी इजरायलले हवाई आक्रमण गरेको छ । इजरायली आक्रमण प्यालेस्टिनी सुरक्षा निकायका कर्मचारीमाथि समेत केन्द्रित भएको छ । खान युनिस क्षेत्रमा प्रहरी अधिकारीहरूलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ ।
गाजाको आन्तरिक मन्त्रालयले आक्रमणमा आन्तरिक सुरक्षा सेवाका दुई कमान्डर नईम अबु नहल र मोहम्मद अबु अल–औफको मृत्यु भएको जनाएको छ । मन्त्रालयले इजरायलले गाजामा अराजकता सिर्जना गर्ने उद्देश्यले सुरक्षा निकायलाई लक्षित गरिरहेको आरोप लगाएको छ । –अलजजीरा






















