काठमाडौ.– इन्डोनेसियाको जाभा टापुमा अवैधरूपमा सञ्चालित भारी वर्षापछि आएको बाढीका कारण सुन खानीमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ भने एक दर्जनभन्दा बढी अझै बेपत्ता छन् ।
उद्धार अधिकारीले बिहीबार यो जानकारी दिएका हुन् । खनिजले भरिपूर्ण दक्षिणपूर्वी एसियाली द्वीपसमूहमा खानी दुर्घटना सामान्य छन् ।
विशेष गरी अनुमति नभएका खानीमा सुरक्षा मापदण्ड कमजोर हुने र प्रायः बेवास्ता गरिने हुँदा यस्ता घटना बढी हुन्छन् । सोमबार भारी वर्षापछि नजिकैको नदीले बाढी ल्याउँदा खानी डुबेको थियो र कामदारहरू भित्रै थुनिएका थिए ।
स्थानीय खोज तथा उद्धार प्रमुख देसियाना कार्तिका बहारीले वक्तव्यमा भनेका छन्, ‘बिहीबार बिहानसम्म १३ जना कामदारको शव भेटिएको छ भने १३ जना अझै बेपत्ता छन् ।’ उद्धार अभियानमा करिब १०० मिटर (३३० फिट) गहिरा साँघुरो खाल्डा, न्यूनतम उज्यालो र चिप्लो भूभागजस्ता चुनौतीहरू रहेको देसियानाले बताए ।
‘खोज तथा उद्धार (एसएआर) अभियानमा संलग्न कर्मचारीको सुरक्षा प्राथमिकतामा राख्दै स्थलगत अवस्थालाई ध्यानमा राखेर सबै प्रयास गरिएको छ,’ उनले भने । पश्चिम जाभा प्रहरी प्रवक्ता हेन्द्रा रोच्मावानका अनुसार सोमबार पानीले सुरुङ डुबाउनुअघि ११ जना खानी कामदार सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका थिए ।
अधिकारिहरूलाई फसेका कामदारबारे मङ्गलबार मात्रै जानकारी पाइएको र उद्धार प्रयास भइरहेको उनले बताए ।






















