images
images
  • स्वास्थ्य बीमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

    काठमाडौं – राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने उद्देश्यले सरकारले स्वास्थ्य बीमा ऐन संशोधन प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिहीबार मन्त्रालयमा स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष तथा सम्बन्धित निकायका प्रतिनिधिसँग प्रस्तावित विधेयकबारे छलफल गरेकी छन् ।

    मन्त्रालयले आवश्यक छलफल र गृहकार्यपछि स्वास्थ्य बीमा ऐन संशोधनसम्बन्धी विधेयक तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइसकेको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर विधेयक छिट्टै सङ्घीय संसद्मा दर्ता गर्ने तयारी भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रस्तावित विधेयकमा स्वास्थ्य बीमा कार्यक्रमको योगदान सङ्कलन र सेवा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने विषयलाई प्राथमिकता दिइएको छ । सरकारी तथा निजी क्षेत्रका कर्मचारी, स्वरोजगार र अन्य नागरिकलाई समेत बीमाको दायरामा समेट्ने प्रस्ताव गरिएको छ । त्यस्तै, आर्थिक रूपमा योगदान गर्न नसक्ने नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यले लिने व्यवस्था पनि संशोधन विधेयकमा समेटिएको छ ।

    स्वास्थ्य बीमा बोर्ड, सामाजिक सुरक्षा कोष र कर्मचारी सञ्चय कोषलगायतका निकायबाट उपलब्ध स्वास्थ्य उपचार सुविधाबीच समन्वय तथा एकीकरण गर्ने प्रस्ताव पनि अघि सारिएको छ । यसबाट स्वास्थ्य बीमा सेवा प्रवाह सहज बनाउने र दोहोरो सुविधा तथा व्यवस्थापनका समस्या न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । प्रस्तावित सुधारमा स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाको दायरा विस्तार गर्ने, अनावश्यक स्वास्थ्य परीक्षण निरुत्साहित गर्ने तथा अनुचित दाबी नियन्त्रण गर्ने विषयसमेत समेटिएका छन् ।

    मन्त्री मेहताका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई उपचार खर्च व्यवस्थापनमा मात्र सीमित नराखी प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने सरकारको लक्ष्य छ । आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार अघि बढाइएको उनले बताएकी छन् । विधेयक संसद्मा दर्ता भई आवश्यक प्रक्रिया पूरा भएपछि प्रस्तावित व्यवस्थाले स्वास्थ्य बीमा कार्यक्रमको सञ्चालन, सेवा प्रवाह र वित्तीय व्यवस्थापनमा सुधार ल्याउने आशा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images