images
images
  • चिनियाँ कम्युनिस्ट पार्टीका कुनै पनि पोलिटब्युरो सदस्य छैनन् सुरक्षित ? सीको भ्रष्टाचार मुद्दामा तानिए सांघाई पार्टी प्रमुख

    काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले सञ्चालन गर्दै आएको व्यापक भ्रष्टाचारविरोधी अभियानमा चिनियाँ कम्युनिस्ट पार्टीका उदाउँदा नेता तथा सांघाईका पार्टी प्रमुख चेन जिनिङ पनि तानिएका छन्। चिनियाँ अधिकारीहरूले उनीमाथि अनुसन्धान सुरु गरेका छन्।

    ६२ वर्षीय चेनमाथि ‘गम्भीर अनुशासन उल्लङ्घन र कानुनको अवहेलना’ गरेको आरोप लागेको चिनियाँ कम्युनिस्ट पार्टीको भ्रष्टाचारविरोधी निकायले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ।

    चेन सन् २०२२ मा नियुक्त भएको पार्टीको शक्तिशाली पोलिटब्युरोका अनुसन्धानमा परेका चौथो सदस्य हुन्। सांस्कृतिक क्रान्तिको अन्त्यपछि पार्टीको सर्वोच्च कार्यकारी निकायका उच्च नेताहरूमाथि एकैपटक यति व्यापक रूपमा कारबाही भएको यो पहिलो घटना हो।

    अर्को वर्ष हुने राष्ट्रिय जनकांग्रेसअघि पार्टीले नयाँ नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला चिनियाँ कम्युनिस्ट पार्टीको आगामी नेतृत्व कस्तो हुनेछ भन्ने विषयमा अनिश्चितता बढेको छ। यद्यपि पार्टीको सर्वोच्च नेतृत्वमा सी नै रहने निश्चित देखिएको छ।

    चेनअघि सन् २०२२ मा गठित वर्तमान पोलिटब्युरोका अन्य तीन सदस्य अनुसन्धानमा परेका थिए। अनुसन्धानपछि उनीहरूलाई पार्टीबाट निष्कासन गरिएको थियो। कारबाहीमा पर्नेमा पूर्वजनरलहरू हे वेइडोङ र झाङ युसिया तथा सिन्जियाङका पूर्वपार्टी प्रमुख मा सिङरुई छन्।

    चेनलाई भने अहिलेसम्म पोलिटब्युरोबाट हटाइएको छैन। तर यस्ता अनुसन्धानमा परेका अधिकारीहरू पुनः पुरानै जिम्मेवारीमा फर्किने सम्भावना निकै कम हुने गरेको छ।

    चीनसम्बन्धी विश्लेषक बिल बिसपले आफ्नो ‘सिनोसिज्म’ नामक समाचारपत्रमा लेख्दै आगामी वर्षको पार्टी महाधिवेशनका लागि नेतृत्व चयनको राजनीतिक गतिविधि तीव्र भइरहेका बेला पोलिटब्युरोका कुनै पनि सदस्य आफू सुरक्षित रहेकोमा ढुक्क हुन नसक्ने टिप्पणी गरेका छन्।

    बिसपका अनुसार चेनमाथि अनुसन्धान सुरु हुनु अप्रत्याशित घटना हो। भ्रष्टाचारविरोधी अभियानअन्तर्गत चेन नभई अर्का एक वरिष्ठ अधिकारी कारबाहीमा पर्ने चर्चा चलिरहेका बेला उनीमाथि अनुसन्धान सुरु भएको हो।

    सन् २०२२ मा सांघाईको पार्टी प्रमुख बनेका चेनको यो पदलाई चीनको सर्वोच्च राजनीतिक नेतृत्वसम्म पुग्ने महत्त्वपूर्ण अवसरका रूपमा हेरिन्छ। सांघाई पार्टी प्रमुखको जिम्मेवारी सम्हालिसकेका नेताहरूको सूचीमा पूर्वराष्ट्रपति जियाङ जमिन, पूर्वप्रधानमन्त्री झु रोङ्जी, वर्तमान प्रधानमन्त्री ली छ्याङ र राष्ट्रपति सी समेत छन्।

    सांघाई पार्टी प्रमुखका रूपमा चेनले सहर भ्रमणमा आउने विभिन्न विदेशी नेताहरूको आतिथ्य गरेका थिए। उनले गत जनवरीमा बेलायतका पूर्वप्रधानमन्त्री किएर स्टार्मर तथा सन् २०२४ मा अमेरिकाका पूर्वविदेशमन्त्री एन्टोनी ब्लिन्केनलाई स्वागत गरेका थिए।

    cbd85490 e886 11f1 8394 1391ad77445f.jpg

    चेन सांघाईमा कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकासका पनि प्रमुख समर्थक थिए। चिनियाँ कम्युनिस्ट पार्टीले एआई क्षेत्रलाई रणनीतिक प्राथमिकतामा राख्दै आएको छ।

    चेनले छिङह्वा विश्वविद्यालयबाट वातावरणीय इन्जिनियरिङमा स्नातक गरेका थिए। सन् १९९८ मा सोही विश्वविद्यालयमा प्राध्यापन गर्न फर्किएका उनी सन् २०१२ मा विश्वविद्यालयको अध्यक्ष बनेका थिए। उनले बेलायतमा समेत केही वर्ष बिताएका थिए र त्यहाँको इम्पेरियल कलेज लन्डनबाट विद्यावारिधि (पीएचडी) गरेका थिए।

    सीले सन् २०१२ मा भ्रष्टाचारविरोधी अभियान सुरु गरेयता ‘अनावश्यक औपचारिकता, कर्मचारीतन्त्र, सुखसयल र फजुल खर्च’ सँग सम्बन्धित विषयमा दुई करोडभन्दा बढी व्यक्तिलाई अनुशासनात्मक कारबाही गरिएको चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ।

    भ्रष्टाचारविरोधी अनुसन्धानमा परेका अधिकारीमाथि लागेका ठोस आरोपहरू भने प्रायः सार्वजनिक गरिँदैनन्। अनुशासन र कानुन उल्लङ्घन गरेको भन्ने व्यापक प्रकृतिका आरोप लगाएर अनुसन्धान अघि बढाउने अभ्यास चीनमा सामान्य बन्दै गएको छ।

    विश्लेषकहरूका अनुसार चीनमा भ्रष्टाचारको परिभाषा आर्थिक अनियमिततामा मात्रै सीमित छैन। पार्टीको विचारधाराप्रतिको प्रतिबद्धतामा कमजोरी देखिनु वा नेतृत्वप्रति अवफादार हुनु पनि भ्रष्टाचार र अनुशासन उल्लङ्घनकै रूपमा लिइने गरेको छ।

    गत महिना सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको पाँचौँ पूर्ण बैठकमा पार्टी अनुशासनको विषय प्रमुखताका साथ उठेको थियो। उक्त बैठकमा केन्द्रीय समितिका ३३ सदस्यलाई पार्टीबाट निष्कासन गरिएपछि अहिलेसम्मकै सबैभन्दा धेरै सिट खाली भएका थिए।

    चेनमाथि जारी अनुसन्धानले चीनमा भ्रष्टाचारविरोधी अभियान तत्काल रोकिने संकेत नरहेको देखाएको छ।

    यसैबीच सांघाईको कम्युनिस्ट पार्टी स्थायी समितिले एक विज्ञप्ति जारी गर्दै पार्टीको निर्णयप्रति आफूहरूको दृढ समर्थन रहेको जनाएको छ। समितिका सदस्यहरूले सर्वसम्मत रूपमा निर्णयको समर्थन गरेको विज्ञप्तिमा उल्लेख छ।

    चेनमाथिको अनुसन्धानले भ्रष्टाचारविरुद्धको लडाइँ नरोकिने स्पष्ट सन्देश दिएको समितिको भनाइ छ।

    –बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images