images
images
  • वीरगन्जमा उद्योगीलाई कर छुटदेखि अनुदानसम्म

    काठमाडौं – वीरगन्ज महानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन र नियमन व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धनका लागि नयाँ कानुनी व्यवस्था लागू गरेको छ । महानगरपालिकाले ‘उद्योग दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनसम्बन्धी ऐन, २०८३’ र त्यसको कार्यान्वयनका लागि नियमावली ल्याएको हो । नयाँ व्यवस्थाले उद्योग दर्तादेखि नवीकरण, अनुगमन र खारेजीसम्मका प्रक्रिया व्यवस्थित गर्नुका साथै उद्योगीलाई कर छुट, अनुदान र विभिन्न सहुलियत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

    वीरगन्जलाई आर्थिक नगरीका रूपमा चिनाउँदै आएका महानगर प्रमुख राजेशमान सिंहले ठूला उद्योग तथा कलकारखानासँगै ठूलो संख्यामा घरेलु र साना उद्योगसमेत सञ्चालनमा रहेकाले तिनलाई व्यवस्थित गर्न नयाँ कानुन आवश्यक भएको बताए ।उद्योगलाई नियमनका नाममा असहज बनाउने नभई कानुनी सुरक्षा, सुविधा र प्रोत्साहन प्रदान गर्दै व्यवसायलाई थप बलियो बनाउने उद्देश्यले ऐन ल्याइएको उनको भनाइ छ ।

    १५ दिनभित्र उद्योग दर्ता प्रमाणपत्र

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी ल्याइएको नयाँ व्यवस्थाअनुसार महानगरभित्र सञ्चालन हुने स्थानीय उद्योग अनिवार्य रूपमा दर्ता हुनुपर्नेछ । आवश्यक कागजातसहित निवेदन परेपछि जाँचबुझ गरी प्रक्रिया पूरा भएको अवस्थामा १५ दिनभित्र उद्योग दर्ता प्रमाणपत्र उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । यसअघि प्रचलित कानुनअनुसार दर्ता भएर सञ्चालनमा रहेका उद्योगले समेत ऐन लागू भएको छ महिनाभित्र महानगरमा आफ्नो अभिलेख अद्यावधिक गर्नुपर्नेछ ।

    महिला तथा सीमान्तकृत समुदायका उद्योगलाई सहुलियत

    नयाँ ऐनले उद्योग प्रवर्द्धनका लागि विभिन्न कर छुट र सहुलियतको व्यवस्था गरेको छ । सूचना प्रविधि, सफ्टवेयर विकास तथा डिजिटल सेवासम्बन्धी उद्योग तोकिएको क्षेत्रमा स्थापना भए पाँच वर्षसम्म ५० प्रतिशत व्यवसाय कर छुट दिन सकिने प्रावधान राखिएको छ ।

    महिलाको पूर्ण स्वामित्वमा रहेका तथा दलित, सीमान्तकृत र अपाङ्गता भएका व्यक्तिले सञ्चालन गरेका उद्योगलाई दर्ता शुल्कमा ५० प्रतिशत छुट र व्यवसाय करमा तीन वर्षसम्म १५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । घरेलु तथा साना उद्योगलाई पनि व्यवसाय करमा छुट उपलब्ध गराउन सकिने ऐनमा उल्लेख छ । त्यस्तै, सहकारी, लघु, घरेलु तथा साना उद्योगलाई निर्धारित मापदण्डका आधारमा बीउ पुँजी अनुदान उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ ।

    उद्योग स्थापनाका लागि जग्गा र लगानीमा सहजीकरण

    उद्योग स्थापना गर्न जग्गा खरिदमा कठिनाइ भए महानगरले आवश्यक समन्वय र सहजीकरण गर्नेछ । राष्ट्रिय तथा स्थानीय प्राथमिकतामा परेका उद्योगलाई सरकारी जग्गा भाडामा उपलब्ध गराउने प्रक्रियामा समेत महानगरले सहजीकरण गर्न सक्ने व्यवस्था ऐनमा छ । सार्वजनिक–निजी साझेदारीमा औद्योगिक करिडोर, औद्योगिक ग्राम र औद्योगिक क्लस्टर घोषणा गरी त्यस्ता क्षेत्रमा उद्योग स्थापना गर्ने व्यवसायीलाई थप सुविधा उपलब्ध गराउन सकिने प्रावधान पनि राखिएको छ ।

    एकद्वार सेवा केन्द्र र उद्योग प्रवर्द्धन समिति

    उद्योग प्रवर्द्धन तथा लगानी विस्तारका लागि महानगर प्रमुखको अध्यक्षतामा स्थानीय उद्योग प्रवर्द्धन समिति गठन गरिनेछ । उद्योगीलाई दर्ता तथा अन्य प्रशासनिक प्रक्रियामा सहजता प्रदान गर्न एकद्वार सेवा केन्द्र स्थापना गर्ने व्यवस्था पनि ऐनमा गरिएको छ । त्यस्तै, उद्योग विकास, प्रविधि विस्तार, लगानी संरक्षण तथा रुग्ण उद्योग पुनःस्थापनाका लागि विभिन्न कोष स्थापना गर्न सकिने प्रावधान समेटिएको छ ।

    वातावरणीय मापदण्ड पालना अनिवार्य

    ऐनले उद्योग दर्ता र सञ्चालनसँगै वातावरणीय दायित्वलाई पनि प्राथमिकता दिएको छ । प्रचलित कानुनअनुसार वातावरणीय अध्ययन आवश्यक पर्ने उद्योगले सम्बन्धित अध्ययनको स्वीकृति लिएपछि मात्रै स्थापना तथा सञ्चालन गर्नुपर्नेछ । महानगरले उद्योगले दर्ताका क्रममा तोकिएका सर्त तथा प्रचलित कानुनी प्रावधान पालना गरे–नगरेको नियमित अनुगमन गर्नेछ ।

    महानगर प्रमुख सिंहले नयाँ कानुनी व्यवस्थाले उद्योगीलाई व्यवस्थित र सुरक्षित रूपमा व्यवसाय सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उद्योगीलाई कानुनी दायरामा ल्याउनुको उद्देश्य निरुत्साहित गर्नु नभई आवश्यक सुविधा, सहुलियत र सहजीकरणमार्फत स्थानीय उद्योगको विकास तथा विस्तार गर्नु रहेको उनले बताए । – कान्तिपुर

    प्रतिक्रिया दिनुहोस्
    images
    images