images
images
  • बायोग्यास वितरणका लागि तत्काल नीति बनाउन सुनिता डंगोलको माग

    काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बायोग्यास वितरणका लागि आवश्यक नीतिगत व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेकी छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रममा बोल्दै उनले उत्पादित बायोग्यास उपभोक्तासम्म पुर्‍याउन सिलिण्डर र पाइपलाइन दुवै माध्यमबाट वितरण गर्न सकिने व्यवस्था आवश्यक रहेको बताइन् ।

    प्लान्टबाट ग्यास उत्पादन भएपछि त्यसको वितरण कसरी गर्ने भन्ने विषयमा स्पष्ट नीति नरहेको भन्दै उनले नीतिगत अन्योल तत्काल हटाउन सरकारको ध्यानाकर्षण गराइन् । प्राविधिक समस्याका कारण लामो समयदेखि बन्द रहेको प्लान्ट पुनः सञ्चालनमा ल्याइएकाले यसको नियमित सञ्चालन र दिगोपन सुनिश्चित गर्न नीतिगत स्पष्टता आवश्यक रहेको उनको भनाइ छ ।

    डंगोलले बायोग्यास प्लान्ट निर्माण र उद्घाटनमा मात्र सीमित नभई उत्पादित ग्यासको प्रभावकारी वितरण तथा नियमित सञ्चालनमा ध्यान दिनुपर्ने बताइन् । महानगरले प्लान्टको दीर्घकालीन सञ्चालनका लागि निजी क्षेत्र र प्राविधिक समूहसँग छलफल गरी सम्भावित चुनौतीको विश्लेषण गरिरहेको पनि उनले जानकारी दिइन् ।

    ‘प्लान्ट सञ्चालन गरेपछि उत्पादन हुने ग्यास वितरण गर्ने नीतिगत व्यवस्था नै स्पष्ट छैन । सिलिण्डरमार्फत घरघरमा पुर्‍याउने वा पाइपलाइनबाट वितरण गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नीति बनाउनुपर्छ’, उनले भनिन्, ‘पाइपलाइन वितरणसम्बन्धी नीति जतिसक्दो छिटो बनेमा बायोग्यास प्लान्टको उद्देश्यअनुसार परिणाम देखिने गरी काम गर्न सकिन्छ ।’

    यसैगरी, उनले टेकुमा निर्माण भइरहेको फोहोर स्थानान्तरण केन्द्र (ट्रान्सफर स्टेसन) तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिइन् । केही उपकरण विदेशबाट ल्याउनुपर्ने भएकाले निर्माणमा ढिलाइ हुन सक्ने उनको भनाइ छ । केन्द्र निर्माण सम्पन्न भएपछि जैविक र अजैविक फोहोर छुट्याउने तथा पुनः प्रयोग गर्न सकिने फोहोरको व्यवस्थापनलाई व्यवस्थित बनाइने उनले बताइन् ।

    डंगोलले फोहोरलाई इन्धनका रूपमा उपयोग गर्न रिफ्युज डिराइभ्ड फ्युल ९आरडीएफ० सम्बन्धी नीति बनाउन पनि सरकारसँग आग्रह गरिन् । सिमेन्ट उद्योगमा कोइलाको विकल्पका रूपमा प्रशोधित फोहोर प्रयोग गर्न सकिने भएकाले त्यसका लागि आवश्यक नीतिगत आधार तयार गर्नुपर्ने उनको भनाइ छ । फोहोरलाई व्यवस्थापन गर्नुपर्ने समस्याका रूपमा मात्र नहेरी ऊर्जा उत्पादन र आर्थिक स्रोतका रूपमा उपयोग गर्नुपर्नेमा उनले जोड दिइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images