images
images
  • रूसी आक्रमणपछि युक्रेनमा विद्युत् आपूर्ति संकट, ६० प्रतिशत सबस्टेसनमा क्षति

    ओडेसा, युक्रेन– रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गरी निरन्तर आक्रमण गरेपछि कृष्णसागर तटीय सहर ओडेसामा विद्युत् आपूर्ति नियमित राख्न कठिन भएको छ । रूसी ड्रोन र क्षेप्यास्त्र आक्रमणबाट ओडेसा क्षेत्रका ६० प्रतिशत विद्युत् सबस्टेसन प्रभावित भएका छन् ।

    युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डीटीईकेको ओडेसा पावर ग्रिड प्रमुख दिमित्रो ह्रिहोरिएभका अनुसार रूसले पछिल्लो समय विद्युत् उत्पादन केन्द्रभन्दा विद्युत् प्रसारण प्रणालीलाई बढी निशाना बनाउन थालेको छ । यसअघि रूसले युक्रेनका विद्युत् उत्पादन केन्द्र ध्वस्त पार्ने रणनीति अपनाएको थियो । तर, युक्रेनले क्षतिग्रस्त उत्पादन केन्द्र छिट्टै मर्मत गरी सञ्चालनमा ल्याउन थालेपछि रुसले विद्युत् प्रसारण गर्ने सबस्टेसन र मुख्य प्रसारण लाइनमा आक्रमण केन्द्रित गरेको ह्रिहोरिएभले बताएका छन् ।

    ‘देशका विभिन्न क्षेत्रमा उत्पादन भइरहेको विद्युत् एक ठाउँबाट अर्को ठाउँमा वितरण हुन नदिनु उनीहरूको उद्देश्य हो,’ क्षतिग्रस्त सबस्टेसनको निरीक्षणका क्रममा उनले रोयटर्ससँग भने । डीटीईकेका प्रमुख कार्यकारी अधिकृत म्याक्सिम टिमचेन्कोले पनि युक्रेनले आफ्नो आवश्यकताअनुसार विद्युत् उत्पादन गरिरहेको भए पनि पश्चिमी क्षेत्रका विद्युत् केन्द्रबाट अन्य क्षेत्रमा आपूर्ति पुर्‍याउन समस्या भइरहेको बताएका छन् ।

    ह्रिहोरिएभका अनुसार रुसी आक्रमणबाट प्रभावित अधिकांश संरचनाको मर्मतपछि विद्युत् आपूर्ति पुनः सञ्चालनमा ल्याइएको छ । तर मुख्य प्रसारण सञ्जालमाथिको आक्रमण जारी रहेकाले ओडेसासम्म विद्युत् पुर्‍याउन चुनौती थपिएको छ । उनका अनुसार केही सबस्टेसनमा तीनदेखि चार पटकसम्म आक्रमण भएको छ भने एउटै सबस्टेसन पाँच पटकसम्म निशानामा परेको छ ।

    ९ हजार घरपरिवार अझै अन्धकारमा

    नोभेम्बर २५ को पछिल्लो विवरणअनुसार ओडेसा क्षेत्रमा करिब ९ हजार घरपरिवार विद्युत् सेवाबाट वञ्चित छन् । यसअघि गत साताको अन्त्यमा युक्रेनको ऊर्जा प्रणालीलाई लक्षित गरी रुसले गरेको ठूलो आक्रमणपछि ओडेसामा विद्युत्, ताप र खानेपानी आपूर्तिसमेत प्रभावित भएको थियो । सरकारी तथ्यांकअनुसार आक्रमणको दुई दिनपछि पनि ओडेसा क्षेत्रका करिब २ लाख ४० हजार मानिस ताप सुविधाबाट वञ्चित थिए ।

    जाडोयाम नजिकिँदै गर्दा ऊर्जा पूर्वाधारमाथिको आक्रमणले सर्वसाधारणको दैनिक जीवन थप कष्टकर बनेको छ । ओडेसा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह सहर हो । करिब १० लाख जनसंख्या रहेको यो सहर युक्रेनबाट विश्व बजारमा हुने अन्न निर्यातको प्रमुख प्रवेशद्वारसमेत हो । त्यसैले यहाँको ऊर्जा पूर्वाधारमा हुने आक्रमणले स्थानीय जनजीवनसँगै आर्थिक गतिविधिमा पनि असर पार्ने गरेको छ ।

    ऊर्जा पूर्वाधारलाई लक्षित गर्ने रणनीति

    युक्रेनले रूसका तेल प्रशोधन केन्द्रमाथिका आफ्ना आक्रमण रोक्ने प्रस्ताव पटकपटक अघि सारेको छ । त्यसको बदलामा रुसले युक्रेनको विद्युत् पूर्वाधारमाथिको आक्रमण रोक्नुपर्ने युक्रेनको प्रस्ताव छ । तर रुसले अहिलेसम्म उक्त प्रस्ताव स्वीकार गरेको छैन ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले यस जाडोयाममा युक्रेनका प्रमुख सहरलाई बस्नै नसकिने अवस्थामा पुर्‍याउन खोजेको आरोप लगाएका छन् । रूसले भने युक्रेनमा जारी युद्धका क्रममा सर्वसाधारणलाई जानाजानी निशाना बनाएको अस्वीकार गर्दै आएको छ । उसले ऊर्जा पूर्वाधारलाई सैन्य दृष्टिले वैध निशाना भएको दाबी गर्दै आएको छ।

    विद्युत् प्रसारण प्रणालीमा प्रयोग हुने विशेष उपकरण सहजै प्रतिस्थापन गर्न नसकिने भएकाले यस्ता संरचनामा हुने आक्रमणले ठूलो क्षेत्रलाई दिनौँ वा हप्तौँसम्म विद्युत् सेवाबाट वञ्चित गराउन सक्छ । डीटीईकेले युक्रेनका पाँचवटा तापविद्युत् केन्द्रबाट विद्युत् उत्पादन गर्दै आएको छ । कम्पनीले ओडेसासहित विभिन्न क्षेत्रमा विद्युत् वितरण गर्छ । ओडेसामा आफ्नै विद्युत् उत्पादन केन्द्र नभएकाले अन्य क्षेत्रबाट आउने विद्युत्मा निर्भर रहनुपर्छ ।

    ‘विद्युत् इन्जिनियरिङका कुनै पनि पाठ्यपुस्तकमा उल्लेख नभएका कामसमेत गर्न हामी बाध्य भएका छौँ । सकेसम्म छिटो विद्युत् आपूर्ति पुनःस्थापित गर्न हामी सबै प्रयास गरिरहेका छौँ,’ ह्रिहोरिएभले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images