काठमाडौं– इजरायली सेनाले अमेरिकी सहयोगविनै पनि इरानमाथि जुनसुकै बेला आक्रमण गर्न आफू तयार रहेको जनाएको छ ।
इजरायली सार्वजनिक प्रसारक कानका अनुसार इजरायली सेनाका प्रवक्ता एफी डिफ्रिनले आवश्यक परे अमेरिकाको साथविना पनि इरानमाथि जुनसुकै बेला शक्तिशाली आक्रमण गर्न सक्ने बताएका हुन् ।
इरानले अझै पनि इजरायलको अस्तित्वमाथि खतरा उत्पन्न गरिरहेको उनको भनाइ छ । इजरायललाई नष्ट गर्ने इरानको उद्देश्य अझै समाप्त नभएको डिफ्रिनलाई उद्धृत गर्दै इजरायली सार्वजनिक प्रसारक कानले जनाएको छ ।
फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इजरायल र इरानले एकअर्कालाई निरन्तर चेतावनी दिँदै आएका छन् । यसअघि सेप्टेम्बरमा इजरायली रक्षामन्त्री इजरायल काट्जले इरानले इजरायलमाथि आक्रमण गरे तेहरानलाई ‘पाषाण युग र अन्धकारमा फर्काइदिने’ भन्दै सैन्य कारबाहीको चेतावनी दिएका थिए ।
यसैबीच इजरायली सेनाले दक्षिणी सिरियाको उत्तरी कुनेत्रा ग्रामीण क्षेत्रस्थित तेल अहमरमा राति ठूलो विस्फोट गराएको छ ।
सिरियाको सरकारी टेलिभिजनका अनुसार विस्फोट गराएपछि इजरायली सेना उक्त क्षेत्रबाट पछि हटेको थियो । विस्फोटको आवाज दारालगायतका आसपासका विभिन्न क्षेत्रमा सुनिएको थियो । विस्फोटका कारण नजिकै रहेका आवासीय भवनका झ्यालहरू समेत फुटेका छन् ।
सरकारी टेलिभिजनका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन ।
यसअघि २० भन्दा बढी सैन्य सवारीसाधनसहित इजरायली सेना तेल अहमर क्षेत्रमा प्रवेश गरेको थियो । त्यसपछि उक्त विस्फोट भएको हो ।
त्यस्तै इजरायलको सैन्य उपस्थिति र आक्रमण जारी रहेका बेला दक्षिणी लेबनानमा तीनवटा ठूला विस्फोट भएका छन् ।
लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार नबातिह प्रान्तको मरजायुन जिल्लामा तीनवटा विस्फोट भएका हुन् ।
इजरायली सेनाले रातभरि ग्रामीण क्षेत्रका विभिन्न स्थानमा पटक-पटक तोपबाट समेत आक्रमण गरेको समाचार एजेन्सीले जनाएको छ ।
मार्च २ देखि इजरायल र हिजबुल्लाहबीच पुनः युद्ध चर्किएयता लेबनानमा तीन लाखभन्दा बढी मानिस आन्तरिक रूपमा विस्थापित भएका छन् । युद्धको चपेटामा परेको लेबनानले यसअघि देखि नै गम्भीर आर्थिक संकटसमेत सामना गर्दै आएको छ । युद्ध र आर्थिक संकटका कारण त्यहाँको जनजीवन थप प्रभावित बनेको छ ।






















