images
images
  • पाँचौंपल्ट प्रधानमन्त्री बन्दै देउवा , आजै सानो आकारको मन्त्रिपरिषद

    काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने भएकी छिन् । सर्वोच्चको आदेशपछि कांग्रेस सभापति शेरबहादुर देउवा आज पाँचौ पटक प्रधानमन्त्री बन्दै छन् ।

    देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । हिजो सर्वोच्च अदालतले २४ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी गरिएको छ ।

    २७५ सदस्यीय प्रतिनिधिसभामा ६३ सिट मात्र भए पनि सर्वोच्चको फैसलापछि देउवाले प्रधानमन्त्रीमा शपथ लिन लागेका हुन् ।उनलाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेशको माग गर्दै सत्तारुढ एमालेसहितका बहुमत सांसद सर्वोच्चमा उपस्थित भएर रिट दायर गरेका थिए ।

    देउवाले आजै सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी गरेका छन् । कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहबाट सानो आकारको मन्त्रिपरिषद् बनाउने तयारी भएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिएका छन् ।

    विपक्षी गठबन्धनमा रहेका पाँच दलमध्ये माधवकुमार नेपालले पार्टी एकताको पक्षमा लाग्ने बताएका छन् भने बाँकी दलका तर्फबाट सात सदस्यीय मन्त्रिपरिषद् प्रस्ताव देउवाले गरेका छन् । आफ्नो पार्टीमा पौडेल समूहसहितको प्रतिनिधित्व गराएर दुई मन्त्री बनाउन लागेका देउवाले माओवादीलाई पनि दुई मन्त्री दिन आग्रह गरेका छन् । माओवादीबाट को मन्त्री बन्छन् भन्ने टुङ्गो लागेको छैन ।

    यस्तै जनता समाजवादी पार्टीलाई कम्तिमा एकजना दिएर सरकारमा सहभागी हुन आग्रह गरेका छन् । शुरुदेखि नै ५ दलीय गठबन्धनमा आवद्ध भएको राष्ट्रिय जनमोर्चालाई पनि सरकारमा सहभागी गराउने देउवाको तयारी छ । सरकारमा सहभागी हुने र नाम दिने विषयमा भने सम्बन्धित दलहरुले बैठकबाट निर्णय गर्न बाँकी नै छ ।

    जसपाका तीन नेता उपेन्द्र यादव, डा। बाबुराम भट्टराई र अशोक राईको बैठक अहिले केहिबेरमा बस्दैछ । शीर्ष नेताको बैठकपछि उपलब्ध कार्यकारिणी समितिको बैठक बस्ने नेता इस्तियाक राईले जानकारी दिए ।

    संविधानको धारा ७६ (५) अन्तर्गत बनेका प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्वासको मत लिनु पर्ने हुन्छ । अदालतको धारा ७६ (५) अन्तर्गत बनेको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा ह्वीप नलाग्ने व्याख्या गरेको छ । तर, एमालेमा एकताबारे सहमति भएमा झलनाथ खनाल र माधवकुमार नेपाल समूहलाई विश्वासको मत दिन नैतिक संकट पर्नेछ ।

    विश्वासको मत नपाए सरकार अल्पमतमा पर्न सक्छ । यस्तो भएमा संविधानअनुसार नै प्रतिनिधि सभा विघटन भएर ६ महिनाभित्र चुनाव गर्नु पर्नेछ । सरकार गठनसँगै अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आज विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुट्दै छन् ।

    माधवकुमार नेपालले भने विपक्षी गठबन्धनमा अब रहन नसक्ने बताएका छन् । पार्टीभित्र देखिएको विवाद समाधान गरी मिल्नेतर्फ गएकाले अब आफू विपक्षी गठबन्धनमा बसिरहन नमिल्ने नेता नेपालले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images