images
images
  • आजको मौसम कस्तो रहनेछ ? कोशी र बागमतीसहितका क्षेत्रमा भारी वर्षाको सम्भावना

    काठमाडौं– देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ ।

    उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बंगालको खाडीमा रहेको छ । उक्त प्रणाली आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली र तराईमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    कोशी र बागमती प्रदेशको तराईका थोरै स्थान तथा मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आज राति कोशी र मधेश प्रदेशसहित देशका हिमाली भू–भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ ।

    राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ ।

    मधेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार राति कोशी र बागमती प्रदेशका पहाडी भू–भाग तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images