images
images
  • विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपालको घोषणा

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेको छ ।

    सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो । त्यस लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो ।

    बैठकमा  नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताएका छन् । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।’

    उनको आशय एमाले पार्टी एकता भएको अवस्थामा बिपक्षी गठबन्धनमा नरहने भएको एक नेताले बताएका छन् ।

    नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पारेका छन् । प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएको भन्दै उनले भने, ‘पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भइसक्यो । अब हामी विपक्षी गठबन्धनमा रहँदैनौं ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेपाल समूह विपक्षी गठबन्धनमा गएको थियो । एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेपछि देउवा सर्वोच्च गए, जहाँ उनले माधव नेपाल समूहका २३ सांसदको साथ पाएका थिए ।

    तर सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएको छ । यससँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।

    एमालेसहितको सरकार बनाउन देउवालाई माधव नेपालको सुझाव

    वरिष्ठ नेता नेपालले नेकपा एमालेसहितको सर्वदलीय सरकार बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् । सोमबार नेपाल निवासमा बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले तत्काल आफूहरू अब सरकारमा सहभागी नबन्ने बताउँदै सभापति देउवालाई फराकिलो मन बनाएर अघि बढ्न सुझाव दिएका हुन् ।

    सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना तथा देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्न परमादेश जारी गरेपछि विपक्षी गठबन्धनका नेताहरु नेपाल निवास कोटेश्वरमा छलफलमा जुटेका थिए । छलफलमा नेता नेपालले लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन सफल भएकोमा विपक्षी गठबन्धनका सबैलाई धन्यवाद दिएका थिए ।

    तत्काल सरकारमा सहभागी नहुने

    सर्वोच्चको आदेशसँगै अब परिस्थिति बदलिएकाले सरकारमा सहभागी हुने र विश्वासको मत दिने विषयमा भने नेकपा एमालेको संस्थागत निर्णय गरेर मात्र आफूहरू अघि बढ्ने सन्देश विपक्षी गठबन्धनका नेताहरूलाई दिएका थिए ।

    ‘हिजोको परिस्थितिसम्म लोकतन्त्र, व्यवस्था र संविधान जोगाउन तपाईंहरुको साथमा थिएँ । यसका लागि भोलि पनि मसँगै रहन्छु,’ नेपालको भनाइ उद्धृत गर्दै एमाले रघुजी पन्तले भने, ‘मेरो पार्टीमा एकताको प्रक्रिया अघि बढिरहेको छ । अब सरकारमा सहभागी हुने कुरा र देउवाजीलाई विश्वासको मत दिने कुरा पार्टीले गर्ने संस्थागत निर्णयका आधारमा अघि बढ्ने छौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images