काठमाडौं– प्रभु बैंक नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)को खोजीमा लागेको छ । हालका सीईओ अशोक शेरचनको भविष्य अनिश्चित बन्दै जाँदा बैंक सञ्चालक समिति सम्भावित नयाँ नेतृत्वबारे आन्तरिक छलफलमा जुटेको हो ।
सञ्चालक स्रोतका अनुसार नयाँ सीईओ भित्र्याउने विषयमा विभिन्न व्यक्तिसँग अनौपचारिक संवाद भइरहेको छ । सोही क्रममा नबिल बैंकका पूर्वसीईओ ज्ञानेन्द्र ढुंगानासँग समेत केही सञ्चालकहरूले छलफल गरिसकेका छन् । नेपाल राष्ट्र बैंकको गभर्नर बन्ने आकांक्षासहित नबिलबाट बाहिरिएका ढुंगाना उक्त जिम्मेवारी नपाएपछि पुनः वाणिज्य बैंकको नेतृत्व लिन सक्ने योजनामा देखिएका छन् ।
राष्ट्र बैंकमा करिब एक दशक काम गरिसकेका ढुंगानाले बैंक अफ काठमाण्डूबाट बैंकिङ करिअर सुरु गरेका थिए । नबिल बैंकको सीईओ बन्नुअघि उनी तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओसमेत भएका थिए । समस्याग्रस्त एनबी बैंकलाई सक्षम वाणिज्य बैंकको रूपमा उभ्याउन सफल ढुंगाना नेपाल बैंकर्स संघको अध्यक्षसमेत रहिसकेका छन् । प्रभु बैंकका हाल देखिएका समस्याको समाधान गर्न उनी उपयुक्त पात्र हुन सक्ने दाबी केही सञ्चालकहरूको छ ।
प्रभु बैंकको सम्भावित सीईओको सूचीमा सुनिल केसीको नाम पनि अगाडि आएको छ । दुई कार्यकाल सीईओ बनेर गत वैशाखमा एनएमबि बैंकबाट बाहिरिएका केसी पनि नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष हुन् । सन् १९९० मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करिअर सुरु गरेका केसीले दुई चरणमा १८ वर्ष सोही बैंकमा काम गरेका थिए । एनएमबि बैंकमा डीजीएमका रूपमा प्रवेश गरेका उनी डीसीईओ हुँदै सीईओ बनेर बैंकलाई नयाँ उचाइमा पुर्याएको श्रेय लिन्छन् ।
यद्यपि, केही सञ्चालकले बाहिरबाट नभई बैंकभित्रैबाट सीईओ नियुक्त गर्नुपर्ने धारणा अघि सारेका छन् । सो अवस्थामा हाल कायमुकायम सीईओ निरज लम्साल सम्भावित पात्रका रूपमा हेरिएका छन् । सीईओ शेरचन पक्राउ परेपछि बैंकको नेतृत्व सम्हालिरहेका लम्सालले सन् २००० मा नेपाल बंगलादेश बैंकबाट बैंकिङ यात्रा सुरु गरेका थिए । दुई दशकभन्दा बढी अनुभव भएका उनी हाल प्रभु बैंकमा सहायक महाप्रबन्धक छन् ।
‘हामी आफैं बैंक चलाउन सक्षम छौं,’ लम्सालले भने, ‘अब निर्णय सञ्चालक समितिको हो । समितिले जे निर्णय गर्छ, हामी त्यसलाई स्वीकार गर्छौं ।’
सञ्चालक समिति भने औपचारिक निर्णय भइनसकेको बताउँछ । ‘ढुंगाना र केसी सम्भावित पात्र हुन्,’ एक सञ्चालकले भने, ‘तर शेरचनको विषयसमेत पूर्ण रूपमा टुंगिएको छैन । यो व्यक्तिगत होइन, सामूहिक निर्णयको विषय हो ।’
प्रभु बैंक विगतदेखि नै नेतृत्व विवादमा पर्दै आएको छ । किष्ट बैंक प्राप्तिपछि सुरु भएको विवाद त्रिपक्षीय झमेलासम्म पुगेको थियो, जसमा बैंकका शीर्ष व्यवस्थापन नै पक्राउ परेका थिए । पछिल्लो पटक पनि सीआईबीको अनुसन्धानमा परेका शेरचनसहित अन्य उच्च अधिकारीहरू तारेखमा रिहा भएका छन् । तर अनुसन्धान अन्तिम चरणमा पुगेकाले अदालतमा मुद्दा दर्ता हुने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यही अनिश्चितताबीच शेरचन बैंकबाट बाहिरिने संकेत देखिएपछि सञ्चालक समितिले नयाँ सीईओको खोजीलाई तीव्र बनाएको स्रोतको दाबी छ । विभिन्न समयमा उच्च व्यवस्थापन नै कानुनी झमेलामा फस्दै आएपछि प्रभु बैंक अब नयाँ नेतृत्वमार्फत संस्थागत स्थायित्व खोज्ने दिशामा अघि बढेको देखिन्छ ।























