काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मेलम्चीमा आएको बाढीबाट पीडित भएकाहरूको अवस्था बुझुन सिन्धुपाल्चोक पुगेका छन् । भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङसहित उनी केहीबेर अघि सिन्धुपाल्चोक प्रस्थान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बाढीपीडितको पछिल्लो अवस्था बुझेर उनीहरूको पुनस्स्थापनका सम्बन्धमा आवश्यक रणनीति बनाउनका लागि ओली स्थलगत अवलोकनमा गएका हुन् ।यसअघि सरकारले बाढीबाट घरबार गुमाएकाहरूलाई ५० हजार अनुदान दिने निर्णय गरिसकेको छ ।
प्रधानमन्त्रीसँग पूर्वमन्त्री शेरबहादुर तामाङ पनि छन् । मनसुन शुरुवात भए लगतैको बाढी पहिरोका कारण सिन्धुपाल्चोकमा ठूलो जजनधनको क्षति पुगेको छ ।
यस वर्षको मनसुनबाट अहिलेसम्म ५१ जनाको ज्यान गइसकेको छ भने २९ जना बेपत्ता छन् । बाढी, पहिरो र डुबानबाट ७१ जना घाइते भएका छन् । वेपत्ता हुनेमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी २० जना रहेका छन् ।
बाढी–पहिरोमा परेका एक हजार २६८ जनाको विभिन्न ठाउँबाट उद्दार गरिएको छ । बाढीको कारण एक हजार ५१६ घर डुबानमा परेका र ५६४ घर, ९९ गोठ, ४२ पुल, ३ विद्यालय र १३ सरकारी कार्यालयमा क्षति पुगेको छ । एक हजार १५८ घरका पाँच हजार ४२३ व्यक्ति विस्थापित भएका छन् ।


विश्व खबर 



















