images
images
  • यी हुन् मुख्य सचिव बन्ने लाइनमा रहेका उच्चपदस्थ निजामती कर्मचारी (नामावलीसहित)

    काठमाडौं– मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेरहद पुगेपछि मंसिर १० गते अनिवार्य अवकाशमा जान लागेका छन् ।

    २०८१ भदौ १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिवमा नियुक्त गरेका अर्याल १५ महिनाको कार्यकालपछि बिदा हुँदैछन् ।

    अर्यालको अवकाश नजिकिँदै जाँदा नयाँ मुख्यसचिव बन्ने प्रतिस्पर्धा तीव्र बनेको छ ।

    जेनजी आन्दोलनका बेला उनले तत्कालीन प्रधानमन्त्रीलाई जोगाउनेतर्फ बढी ध्यान दिएको आरोप लागे पनि प्रधानमन्त्री सुशीला कार्कीले उनलाई पूर्ण कार्यकालसम्म काम गर्न दिने भएकी छन् ।

    यदि अर्याल बिचमै अवकाशमा गएका भए योजना आयोगका सचिव गोकर्णमणि दुवाडी मुख्यसचिव बन्ने सम्भावना थियो ।

    तर, दुवाडी पनि सोही दिन ५ वर्षे सेवाअवधि पूरा गर्दै अनिवार्य अवकाशमा जाने भएका छन् ।

    अर्यालपछि वरीयतामा रक्षासचिव सुमनराज अर्याल छन् ।

    तथ्यांक सेवाबाट आएका उनलाई मुख्यसचिवमा बढुवा हुने सम्भावनाबारे मिश्रित धारणा छ ।

    तर, परराष्ट्र सेवाका शंकरदाश बैरागी मुख्यसचिव भइसकेकाले सेवा वर्ग बाधक नहुने भनाइ पनि छ ।

    प्रधानमन्त्री कार्की निकट स्रोतका अनुसार अन्तरिम सरकार भएकाले वरीयताका आधारमै मुख्यसचिव नियुक्त गर्ने तयारी छ ।

    यसअघि नेपाल प्रहरीको महानिरीक्षकमा पनि वरीयताकै आधारमा दानबहादुर कार्कीलाई नियुक्त गरिएको थियो ।

    अर्यालपछि खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्य शाक्य, तथ्यांक सचिव मधुसुदन बुर्लाकोटी, श्रम सचिव कृष्णहरि पुष्कर, लोकसेवा आयोगका सचिव किरणराज शर्मा, पर्यटन सचिव हरिप्रसाद मैनालीलगायत पनि मुख्यसचिवको प्रतिस्पर्धामा छन् ।

    अर्यालपछिका सचिवहरूमध्ये केही उमेरहदका हिसाबले उनको कार्यकाल सकिएपछि पनि मुख्यसचिव बन्न योग्य हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images