काठमाडौं– स्थानीय तहमा खटाइएका धेरै प्रमुख प्रशासकीय अधिकृत अझै हाजिर भएका छैनन्, जसका कारण नियमित सेवा प्रवाह र विकास निर्माण प्रभावित भएका छन् ।
सामान्य प्रशासन मन्त्रालयले गत भदौ ३१ र असोज २१ गते खटाइएका अधिकृतहरूलाई रमाना दिन परिपत्र गरे पनि दुई महिनासम्म २७६ मध्ये १७९ जना अझै कार्यस्थल पुगेका छैनन् ।
तत्कालीन मन्त्री भगवती न्यौपानेले भदौमा २७६ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेकी थिइन् ।
तर, मधेश प्रदेशमा सबैभन्दा बढी अधिकारी हाजिर हुन गएका छैनन् ।
मन्त्रालयका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार मन्त्रालयले दुई पटक ताकेता पठाइसकेको छ ।
महाशाखा प्रमुख पार्वती शर्माले केही कर्मचारीले सरुवा बदर गराइदिन माग गरे पनि खटाइएका ठाउँमा गएर काम गर्न निर्देशन दिइएको बताइन् ।
कर्मचारी नजानुको प्रमुख कारण व्यक्तिगत समस्या रहेको मन्त्रालयले जनाएको छ ।
बालबच्चाको हेरचाह, पारिवारिक जिम्मेवारी, स्वास्थ्य समस्या र हालको जेनजी आन्दोलनपछिका असुरक्षा जस्ता कारणले धेरैजना कार्यस्थल नपुगेका हुन् ।
त्यसैगरी, २१ स्थानीय तहका जनप्रतिनिधिले मन्त्रालयले आफ्नो सल्लाहबिना सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई फिर्ता पठाएका छन् ।
नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाका अनुसार मन्त्रालयले स्थानीय तहसँग समन्वय गरी सरुवा गरे समस्या कम हुने थियो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्