काठमाडौं– हमासद्वारा बन्धक बनाइएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हत्या भएको पाइएको छ ।
इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणका नतिजा अनुसार विपिनको सन् २०२३ को अन्त्यतिरै मृत्यु भएको पुष्टि भएको इजरायलस्थित दूतावास स्रोतले जनाएको छ ।
‘हमासले हस्तान्तरण गरेको शव विपिनकै भएको पुष्टि भएको छ । उनको मृत्यु प्राकृतिक नभई हत्या भएको रिपोर्ट आएको छ,’ स्रोतले भन्यो ।
विपिनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (ICRC) मार्फत सैनिक अस्पतालमा लगेर डीएनए परीक्षण गरिएको हो ।
यसबारे इजरायलस्थित नेपाली दूतावासले औपचारिक जानकारी सार्वजनिक गरेको छैन ।
परराष्ट्र मन्त्रालयका अधिकारीहरूले पनि अहिलेसम्म जानकारी नपाएको बताएका छन् ।
स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्कीलाई आधिकारिक रिपोर्ट बुझाइएपछि सरकारले डीएनए परीक्षणको निष्कर्ष सार्वजनिक गर्ने तयारी गरेको छ ।
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए ।
सन् २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए ।
त्यस दिन १० जना नेपाली विद्यार्थी मारिएका थिए भने विपिनलाई हमास लडाकुहरूले अपहरण गरेका थिए ।
इजरायल–हमास युद्धविरामपछि मंगलबार हमासले विपिनको शव हस्तान्तरण गरेको र त्यसपछि इजरायली सेनाले उनको मृत्युको औपचारिक पुष्टि गरेको थियो ।























