काठमाडौं – हिउँद सुरु भएसँगै उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढेको छ । शरद् ऋतुको मुख्य पर्यटकीय सिजन सकिन लाग्दा खुम्बु क्षेत्रबाट फर्किने पर्यटकको सङ्ख्या भित्रिनेभन्दा दोब्बरभन्दा बढी पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको पछिल्लो साप्ताहिक तथ्याङ्कअनुसार सात दिनमा हवाई मार्गबाट एक हजार १८० पर्यटक खुम्बु क्षेत्रबाट बाहिरिएका छन् भने ५२९ पर्यटक मात्रै भित्रिएका छन्। प्रवेश गर्नेभन्दा बाहिरिने पर्यटकको सङ्ख्या ६५१ ले बढी छ । प्रहरीको तथ्याङ्कअनुसार बाहिरिने पर्यटकमध्ये ८७७ विदेशी र ३०३ नेपाली रहेका छन् । त्यसैगरी, खुम्बु प्रवेश गर्नेमा ३७४ विदेशी र १५५ नेपाली पर्यटक छन् ।
बाहिरिने विदेशी पर्यटकमध्ये ५५० पुरुष र ३२७ महिला छन् । नेपाली पर्यटकमा २५७ पुरुष र ४६ महिला रहेका छन्। त्यस्तै, प्रवेश गर्ने विदेशी पर्यटकमध्ये २७२ पुरुष र १०२ महिला तथा नेपाली पर्यटकमध्ये १०१ पुरुष र ५४ महिला रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङले जानकारी दिए ।
खुम्बु क्षेत्रमा राति र बिहानको तापक्रम घटेर माइनसमा पुग्न थालेपछि पर्यटक फर्कने क्रम बढेको स्थानीय बताउँछन् । नाम्चे बजार आसपासमै चिसो बढेर पानी जम्न थालेको स्थानीय दाली शेर्पाले बताए । उनका अनुसार राति र बिहान अत्यधिक चिसो हुने तथा उच्च क्षेत्रमा तापक्रम झन् घट्दै जान थालेपछि पर्यटकले यात्रा छोट्याएर तल्लो क्षेत्रतर्फ फर्कन थालेका छन् ।
सगरमाथा क्षेत्रको मुख्य पर्यटकीय सिजनमध्ये शरद् ऋतुमा असोज र कात्तिक महिनामा पर्यटकको चाप बढी हुने गर्छ । मनसुन सकिएपछि मौसम खुल्ने, हिमाल स्पष्ट देखिने र पदयात्राका लागि अनुकूल वातावरण बन्ने भएकाले यस समयमा स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने गरेको छ । तर, कात्तिकको उत्तरार्धसँगै तापक्रम घट्ने, राति चिसो बढ्ने र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना बढ्ने भएकाले पर्यटक फर्कने क्रम तीव्र हुने गरेको छ ।
सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का अध्यक्ष तथा पर्यटन व्यवसायी लामाकाजी शेर्पाका अनुसार उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै पर्यटकको बसाइ अवधि र गतिविधिमा प्रभाव पर्ने गरेको छ । सिजनको अन्तिम चरणमा पर्यटकले मौसम, तापक्रम, हिमपातको सम्भावना र पदयात्राको अवस्थालाई ध्यानमा राखेर यात्रा योजना बनाउने भएकाले फर्कने क्रम बढ्ने उनको भनाइ छ ।
पर्यटन व्यवसायी स्पिडकाजी शेर्पाले पनि जाडो सुरु भएसँगै उच्च हिमाली क्षेत्रको यात्रा कठिन हुने र पर्यटकको सङ्ख्या क्रमशः घट्दै जाने बताउनुभयो। खुम्बु क्षेत्रको पर्यटन गतिविधि मौसममा निर्भर रहने भएकाले मौसमी परिवर्तनले पर्यटकको आवागमनमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ ।
लुक्लास्थित तारा एयरका स्टेसन इन्चार्ज अमृत मगरका अनुसार पर्यटकको चाप र मौसमले हवाई आवागमनलाई समेत प्रभावित गर्ने गरेको छ । पर्यटकको चाप बढी हुँदा उडान सङ्ख्या बढ्ने र सिजन कमजोर हुँदै जाँदा बाहिरिने पर्यटकको सङ्ख्या बढ्ने उहाँले बताए । लुक्ला विमानस्थलबाट हुने उडान मौसममा निर्भर रहने भएकाले प्रतिकूल मौसमले हवाई सेवासमेत प्रभावित हुने उनको भनाइ छ ।
लुक्लाका स्थानीय तोयाकुमार श्रेष्ठका अनुसार पर्यटकको चाप घट्न थालेसँगै होटल, पसल, पदयात्रा सेवा तथा अन्य पर्यटन व्यवसायमा पनि गतिविधि कम हुँदै जान्छ । उच्च क्षेत्रमा चिसो बढेपछि पर्यटकले यात्रा छोट्याउने वा तल्लो क्षेत्र फर्कने क्रम बढ्ने उनले बताए।
प्रहरीको पछिल्लो साप्ताहिक विवरणअनुसार खुम्बु क्षेत्रमा एक सातामा ६९ वटा हवाईजहाज र २८ वटा हेलिकप्टर उडान भएका छन् । पर्यटकको आवागमनका लागि हवाई सेवा महत्वपूर्ण माध्यम रहेकाले मौसम र पर्यटकीय सिजनले उडान गतिविधिमा प्रभाव पार्ने गरेको छ ।
सगरमाथा राष्ट्रिय निकुञ्ज, सगरमाथा आधार शिविर, नाम्चे बजार, खुम्जुङ, गोक्यो, थामे र लुक्लालगायत क्षेत्र पदयात्रा, हिमाल अवलोकन तथा पर्वतारोहणका लागि अन्तर्राष्ट्रिय पर्यटकका प्रमुख आकर्षण हुन् । पर्यटनविद् आङछिरिङ शेर्पाका अनुसार सगरमाथा क्षेत्रमा वसन्त र शरद् गरी दुई मुख्य पर्यटकीय सिजन हुन्छन् । वसन्त सिजन फागुनदेखि जेठसम्म र शरद् सिजन भदौको अन्त्यदेखि मङ्सिरसम्म मानिन्छ । शरद् सिजनमा असोज र कात्तिकमा पर्यटकको चाप सबैभन्दा बढी रहने गरेको छ ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीका अनुसार शरद् सिजन सकिँदै जाँदा तापक्रम घट्ने र मौसममा परिवर्तन आउने भएकाले पर्यटन गतिविधि पनि प्रभावित हुन थाल्छ । उच्च हिमाली क्षेत्रमा चिसो बढ्दै जाँदा आगामी दिनमा मौसम थप प्रतिकूल हुन सक्ने र त्यसले पर्यटकको आवागमनमा असर पार्न सक्ने पर्यटन व्यवसायी तेम्बाछिरि शेर्पाको अनुमान छ ।
प्रहरीको पछिल्लो तथ्याङ्कले सगरमाथा क्षेत्रमा शरद् पर्यटन सिजन क्रमशः अन्त्यतिर पुगेको र पर्यटक तल्लो क्षेत्रतर्फ फर्कने क्रम तीव्र भएको देखाएको छ ।






















