काठमाडौं । अमेरिकी विश्वविद्यालयको डिग्री स्वदेशमै उपलब्ध गराउने भन्दै काठमाडौंका विभिन्न कलेजहरूले व्यापक प्रचारप्रसार गरिरहँदा तिनलाई सम्बन्धन दिने अमेरिकाको क्यालिफोर्नियास्थित ‘वेस्टक्लिफ युनिभर्सिटी’ स्वयं अमेरिकाको ‘नेशनल युनिभर्सिटी’ (राष्ट्रिय विश्वविद्यालय) को सूचीमा नरहेको तथ्य बाहिरिएको छ ।
विश्वविद्यालयहरूको गुणस्तर मापन गर्ने प्रतिष्ठित संस्था युएस न्युज एन्ड वर्ल्ड रिपोर्टले सन् २०२७ का लागि प्रकाशन गरेको ‘बेस्ट नेशनल युनिभर्सिटीज’को ४२८ वटा विश्वविद्यालयको सूचीमा वेस्टक्लिफ अटाउन सकेको छैन ।
यति मात्र होइन, विश्वका शीर्ष र्याङकिङ प्रकाशन गर्ने अन्य तीन ठूला संस्थाहरू, क्युएस, टाइम्स हायर एजुकेसन र फोर्ब्सको सन् २०२७ को मुख्य वरियता सूचीमा समेत वेस्टक्लिफ विश्वविद्यालय समावेश छैन ।
वेस्टक्लिफ किन परेन ‘नेशनल युनिभर्सिटी’ को सूचीमा ?
शैक्षिक मूल्याङ्कन गर्ने संस्थाहरूले विश्वविद्यालयहरूको अनुसन्धान क्षमता र शैक्षिक दायराका आधारमा वर्गीकरण गर्ने गर्दछन् । युएस न्युजको मापदण्डअनुसार स्नातक र स्नातकोत्तरका साथै व्यापक मात्रामा विद्यावारिधि कार्यक्रम र ठूला वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने संस्थाहरूलाई मात्र ‘नेशनल युनिभर्सिटी’ को श्रेणीमा राखिन्छ ।
वेस्टक्लिफ मुख्यतया स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा मात्र केन्द्रित रहेको र सीमित संख्यामा मात्र विद्यावारिधि कार्यक्रम सञ्चालन गर्ने भएकाले युएस न्युजले यसलाई ‘रिजनल युनिभर्सिटीज वेस्ट’ अर्थात् पश्चिमी क्षेत्रीय विश्वविद्यालयको श्रेणीमा राखेको छ । सन् २०२७ को उक्त क्षेत्रीय सूचीमा पनि वेस्टक्लिफ ११० वटा विश्वविद्यालयमध्ये ७६औँ स्थानमा रहेको छ ।
त्यस्तै, विश्वव्यापी अनुसन्धान र शैक्षिक प्रतिष्ठालाई आधार मान्ने क्युएस र टाइम्स हायर एजुकेसनको मुख्य वरियतामा यो विश्वविद्यालय सूचीकृत छैन । अर्कोतर्फ, फोर्ब्सले गैर-नाफामूलक र ठूला अनुसन्धानमूलक ५ सय कलेजहरूको मात्र मूल्याङ्कन गर्ने भएकाले नाफामूलक श्रेणीमा पर्ने वेस्टक्लिफ फोर्ब्सको सूचीबाट पनि बाहिरिएको हो ।
विश्वव्यापी ठूला अनुसन्धानमूलक वरियतामा नपरे पनि वेस्टक्लिफ अमेरिकाको क्षेत्रीय मान्यता प्राप्त निकाय डब्लुसियुसीबाट स्वीकृत विश्वविद्यालय हो ।
अन्य देशमा क्रेडिट ट्रान्सफर र शैक्षिक आदानप्रदान साझेदारी, नेपालमा सम्बन्धन
अमेरिका बाहिर नेपालका कलेजहरूलाई पूर्ण डिग्री कार्यक्रम सञ्चालन गर्ने अनुमति दिएको वेस्टक्लिफ विश्वविद्यालयले विश्वका अन्य विभिन्न देशका शैक्षिक संस्थाहरूसँग भने क्रेडिट ट्रान्सफर र शैक्षिक आदानप्रदानको साझेदारी गरेको छ ।
विश्वविद्यालयको आधिकारिक विवरणअनुसार अन्य देशका कलेजहरूलाई स्थानीय स्तरमै पूर्ण डिग्री पढाउने सम्बन्धन दिनुको सट्टा आंशिक अध्ययनपछि अमेरिकामा क्रेडिट ट्रान्सफर गर्न पाउने सम्झौता गरिएको छ । यसअन्तर्गत भारतको सिजिसी युनिभर्सिटी मोहाली, फ्रान्सको एपिटेक र इटालीको एपिकोड इन्स्टिच्युट अफ टेक्नोलोजीसँग बीबीए, एमबीए तथा आईटी कार्यक्रमका लागि क्रेडिट ट्रान्सफर सम्झौता रहेको छ ।
यसैगरी, काजाकिस्तानको अल्ट युनिभर्सिटी र अजरबैजानको अजरबैजान टेक्निकल युनिभर्सिटीसँग विद्यार्थी तथा प्राध्यापक आदानप्रदान र संयुक्त अनुसन्धान गर्ने सम्झौता छ । अमेरिका बाहिर विश्वविद्यालयको आफ्नै प्रत्यक्ष शाखा क्याम्पस भने क्यानडाको टोरोन्टोमा सञ्चालनमा रहेको छ ।
तर, काठमाडाैंमा सञ्चालनमा रहेका किङ्स कलेज र प्रेसीडेन्सियल ग्राजुएट स्कुलले भने वेस्टक्लिफ विश्वविद्यालयबाट सम्बन्धन लिएर शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।




















