कठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री नियुक्त भएपछि उनको यो पहिलो छिमेकी मुलुकको राजकीय भ्रमण हो । प्रधानमन्त्री शाह आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा उनले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । त्यस्तै, भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले पनि आजै प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछ । वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय आर्थिक सहकार्य र आपसी हितका विषयमा छलफल हुनेछ ।
ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा
भ्रमणका क्रममा नेपाल र भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ ।
त्यसैगरी, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायतका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले विभिन्न समझदारीपत्र (एमओयू) आदानप्रदान गरिने कार्यक्रम छ । यसबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहयोग थप विस्तार हुने अपेक्षा गरिएको छ ।
भारतीय लगानी आकर्षित गर्ने प्रयास
प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरमको छलफल कार्यक्रम पनि आयोजना हुनेछ । उक्त कार्यक्रममा भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्दै नेपालमा लगानीका अवसर र सरकारले अघि सारेका नीतिगत प्रयासबारे जानकारी गराइनेछ ।
भारतीय व्यवसायीका चासो तथा सरोकार सुन्ने र नेपालमा थप लगानी आकर्षित गर्ने सरकारको दृष्टिकोण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । यसले नेपाली र भारतीय व्यवसायीबीच सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रधानमन्त्री शाहले सोमबार नै नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धासुमन अर्पण गर्नेछ ।
उच्चस्तरीय प्रतिनिधिमण्डल सहभागी
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा पत्रकार सहभागी हुनेछन्।






















