काठमाडौ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक महामन्त्री डा.मुकुल ढकाल र रास्वपाकी सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य निशा डाँगी वैवाहिक जीवनमा बाँधिने भएका छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आगामी मंसिर १० गते विवाह गर्ने तयारी गरेका हुन् ।
ढकाल स्वयंले विवाहको तयारी भइरहेको पुष्टि गरेका छन् ।
उनका अनुसार विवाहका लागि निमन्त्रणा कार्ड छपाउनेलगायतका काम अघि बढिसकेका छन् ।
विराटनगरबाट जन्ती लिएर झापास्थित निशाका आफन्तको घरमा पुग्ने तयारी छ ।
राजनीतिक वृत्तमा लामो समयदेखि चर्चामा रहेको मुकुल र निशाको सम्बन्धले अब वैवाहिक रूप लिन लागेको हो ।
दुवै एउटै पार्टीमा सक्रिय रहँदा उनीहरूको सम्बन्धबारे पार्टीभित्र पनि चर्चा हुने गरेको थियो ।
तर, उनीहरूले आफ्नो व्यक्तिगत सम्बन्धलाई सार्वजनिक गरेका थिएनन् ।
रविसँगको विवादपछि राजनीतिबाट टाढा मुकुल
चिकित्सक पृष्ठभूमिका मुकुल ढकाल रास्वपाको स्थापनाकालदेखि नै सभापति रवि लामिछानेका निकट सहयोगी थिए ।
पार्टी गठनपछि उनी संस्थापक महामन्त्री तथा प्रवक्ताको जिम्मेवारीमा पुगेका थिए ।
तर, पार्टीभित्रको आन्तरिक विवादले उनको राजनीतिक यात्रामा ठूलो धक्का लाग्यो ।
इलाम उपनिर्वाचनपछि पार्टीको अवस्था र संगठनबारे समीक्षा गर्न उनले विभिन्न जिल्लाको भ्रमण गरी प्रतिवेदन तयार पारेका थिए ।
उक्त प्रतिवेदनमा पार्टी नेतृत्व, संगठन सञ्चालन र सभापति लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएपछि उनी विवादमा तानिए ।
विवाद चर्किँदै गएपछि २०८१ असारमा उनलाई महामन्त्री, प्रवक्ता तथा केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाइयो ।
त्यसपछि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो ।
आफ्नो पद पुनर्बहालीको माग गर्दै उनले कानुनी लडाइँसमेत लडेका थिए ।
तर, सर्वोच्च अदालतले २०८२ साउनमा उनको रिट खारेज गरिदिएको थियो ।
निशा भने रास्वपाको नेतृत्वमा सक्रिय
उता, निशा डाँगी भने रास्वपाको राजनीतिमा सक्रिय छिन् ।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा आएकी उनी २०७९ को निर्वाचनमा समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बनेकी थिइन् ।
त्यसपछि पार्टीको केन्द्रीय नेतृत्वमा समेत जिम्मेवारी सम्हाल्दै आएकी उनी हाल सहमहामन्त्री छिन् ।
पछिल्लो निर्वाचनमा झापा–१ बाट प्रत्यक्ष निर्वाचित भएकी डाँगी अहिले प्रतिनिधिसभामा रास्वपाको प्रतिनिधित्व गरिरहेकी छन् ।
यसरी एउटै पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका मुकुल र निशाको राजनीतिक अवस्था भने अहिले फरक छ ।
एक जना पार्टीबाट निष्कासित भएर सक्रिय राजनीतिबाट टाढिएका छन् भने अर्की पार्टीको नेतृत्व र संसदीय राजनीतिमा सक्रिय छिन् ।
राजनीतिक उतारचढाव, पार्टीभित्रको विवाद र नेतृत्वसँगको टकरावका कारण चर्चामा रहँदै आएका मुकुलको व्यक्तिगत जीवनले भने नयाँ मोड लिन लागेको छ ।
मंसिर १० गते हुने विवाहले राजनीतिक वृत्तमा समेत चर्चा पाएको छ ।
अब राजनीतिक जीवनमा अनेक आरोह–अवरोह भोगेका मुकुलको नयाँ यात्रा निशासँगको वैवाहिक जीवनबाट सुरु हुँदैछ ।






















