किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई ‘हत्यारा’ भनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चीनमा पुटिनलाई आफ्नो ‘मित्र’ भनेर सम्बोधन गरेपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो ।
सीएनएनसँग कुरा गर्दै जेलेन्स्कीले पुटिनलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा अमेरिकी राष्ट्रपतिको व्यक्तिगत विषय भएको बताए ।
तर उनले भने, ‘हाम्रा लागि उनी शत्रु हुन्, हाम्रा लागि उनी हत्यारा हुन् ।’
शुक्रबार युक्रेनमाथि रुसी आक्रमण भएको केही घण्टापछि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पुटिन युद्ध अन्त्य गर्न चाहने बताए ।
‘उनीहरू (जेलेन्स्की र पुटिन) दुवै युद्ध अन्त्य गर्न चाहन्छन् । उनीहरूसँग मेरो सम्बन्ध हुनु निकै राम्रो कुरा हो,’ ट्रम्पले भने ।
ट्रम्पले पुटिनलाई आफ्नो मित्र भन्ने अभिव्यक्तिलाई पनि दोहोर्याए ।
तर पुटिन अमेरिकाका मित्र हुन् कि होइनन् भन्ने विषयमा भने आफूले केही भन्न नसक्ने बताए ।
यद्यपि जेलेन्स्कीले ट्रम्पको दृष्टिकोणप्रति असहमति जनाउँदै पुटिनलाई हत्याराका रूपमा हेर्ने बताए ।
‘मलाई लाग्छ, विश्वका अधिकांश मानिसका लागि उनी हत्यारा हुन् । किनभने उनी हरेक दिन र रात मानिसहरूको हत्या गरिरहेका छन्,’ जेलेन्स्कीले सीएनएनसँग भने ।
पुटिनलाई मित्रका रूपमा सम्बोधन गर्दा उनले पर्याप्त दबाब महसुस नगर्ने पनि जेलेन्स्कीको भनाइ थियो ।
यसैबीच, शुक्रवार बिहान पोल्यान्डले आफ्नो दक्षिण पूर्वी हवाई क्षेत्रमा प्रवेश गरेका तीन वस्तुमध्ये एउटा रुसी क्रुज क्षेप्यास्त्र रहेको जनाएको छ ।
पोल्यान्डका रक्षा मन्त्री व्लादिस्लाव कोसिनियाक–कामिस्जका अनुसार उक्त क्षेप्यास्त्र युक्रेनको सीमाबाट करिब ५० किलोमिटर टाढा नोवी लिपोभेकस्थित ग्रामीण क्षेत्रमा खसेको थियो ।
यो स्थान युरोपेली सेनाहरूले सैन्य अभ्यास गरिरहेको क्षेत्रबाट करिब १०० किलोमिटर टाढा पर्छ ।
उक्त अभ्यासमा ‘कोएलिसन अफ द बिलिङ’ नामक गठबन्धनका ३६ सदस्य राष्ट्रमध्ये ११ देशका सैनिक सहभागी थिए ।
अन्य दुई स्थानमा अर्को क्षेप्यास्त्र र जेट इन्जिनबाट सञ्चालित ड्रोन खसेको आशङ्का गरिएको पोल्यान्डका अधिकारीहरूले बताएका छन् ।
पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले यो घटना संयोगवश भएको जस्तो नदेखिएको बताए ।
घटनामा कोही पनि घाइते भएका छैनन् भने कुनै भौतिक क्षति पनि भएको खबर छैन ।
वार्साले यसलाई मस्कोको ‘उक्साहटपूर्ण गतिविधि’ भनेको छ ।
नेटोका महासचिव मार्क रुटेले पोल्यान्डको हवाई क्षेत्रमा भएको गम्भीर उल्लङ्घनको निन्दा गर्दै सैन्य गठबन्धनले जवाफ स्वरूप आफ्ना लडाकु विमान परिचालन गरेको बताए ।
शुक्रवार युक्रेनमाथि भएको व्यापक रुसी आक्रमणका क्रममा उक्त घटना भए पनि रूसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
राष्ट्रपति पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्ण स्तरको सैन्य आक्रमण सुरु गरेका थिए ।
चीनका राष्ट्रपति सी चिनफिङ र पुटिनसँगको ऐतिहासिक त्रिपक्षीय भेटवार्ताअघि ट्रम्पले पुटिनलाई आफ्नो ‘मित्र’ भनेका थिए ।
उनले आफू र पुटिनबीच धेरै वर्षदेखि निकै राम्रो सम्बन्ध रहेको पनि बताएका थिए ।
युक्रेनमाथि रूसी आक्रमण शुक्रबार राति पनि जारी रह्यो ।
मध्य डिनिप्रोपेट्रोभ्स्क क्षेत्रमा रहेको जेलेन्स्कीको गृह नगर क्रिभी रिहमा क्षेप्यास्त्र र ड्रोन आक्रमण हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
आक्रमणमा ५२ जना घाइते भएका छन् ।
युक्रेनको राज्य आपत्कालीन सेवा (डीएसएनएस)का अनुसार उत्तर पूर्वी खार्किभ क्षेत्रमा ११ जना र उत्तर पश्चिमी रिभ्ने क्षेत्रमा एक जना घाइते भएका छन् ।
शुक्रवार राजधानी किएभका पुलहरू र पश्चिमी युक्रेनका रेलवे स्टेसनलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको थियो ।
जेलेन्स्कीले उक्त आक्रमणलाई यस वर्षकै सबैभन्दा ठुलो आक्रमण भनेका छन् ।
उनका अनुसार रुसले एकै पटक ११० वटा क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमध्ये २७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र थिए ।
त्यसै गरी ४०० भन्दा बढी ड्रोन पनि प्रयोग गरिएको थियो ।
युक्रेनले रणनीतिक रूपमा महत्त्वपूर्ण क्रिमियन पुलमा ठूलो क्षति पुर्याएको केही दिनपछि रूसले उक्त आक्रमण गरेको हो ।






















