हरेक मुलुकको सिमानाभित्र भूगोल हुन्छ । तर नेपाललाई ‘भौगोलिक देश’ नै भन्न मिल्छ; किनकि हाम्रोमा संसारमै नपाइने हिमाल-पहाड-तराईको उत्तर-दक्षिण उचाइ-गहिराइ र पूर्व-पश्चिम विविधता पाइन्छ, त्यो पनि छोटो दूरीमै । यो भूगोलले नै नेपालको अग्रगमन र अधोगति- दुवैको निर्धारण गर्दछ भने ‘ज्योग्राफी’ ९न्भयनचबउजथ० विषय स्कूल र कलेजमा प्राथमिकतासाथ पढाइनुपर्ने थियो । तर हाम्रा कक्षाकोठामा भूगोलको पढाइ अति नै कमजोर भएको छ, र नयाँ पुस्तालाई चाहिने देशको भौगोलिक ज्ञान प्रायः छैन भन्दा हुन्छ । त्यसैकारण समाजशास्त्रदेखि पत्रकारिता, राजकाजदेखि भौतिक संरचना निर्माण र अर्थतन्त्रको अध्ययन- सबै पक्षहरू कमजोर बन्न पुगेका छन् ।
१० भदौको रसुवा-विध्वंसलाई सामना गर्न पनि भूगोल र भूगर्भको ज्ञान चाहिन्छ । शुरुमा रसुवा सिमानाबाट तल झरेको प्रलयकारी लेदो-गेग्रानयुक्त बाढीको कारण स्वभावतः तिब्बतको हिमताल फुटेर आएको अनुमान भयो । तर वास्तविकता अर्कै रहेछ, कि नेपालको सिमाना लाङटाङ लिरुङ हिमालको उत्तरी फेदको ल्हेन्दे खोलासम्म नै रहेछ ।
चट्टान र हिमनदी नेपाली भूभागबाटै फुटेर, तल बग्दै रसुवागढी हुँदै आएको रहेछ । यसरी यो त्रासदी नेपालमै उत्पन्न भएको थाहा भयो । अब यसको पर्याप्त अध्ययन गरिनुपर्छ- भूगर्भदेखि भूराजनीतिसम्म । नत्र त, ‘चीनले पठाएको बाढी’ भन्दै पन्छिन सजिलो नै हुने भयो ।
नेपालका विभिन्न समुदायको बसोबासको विविधता- हिमालय पर्वतको भौगर्भिक उत्पत्तिले निर्धारण गरेको हो । जब जम्बुद्वीपको टापु, एशियाली ‘टेक्टनिक प्लेट’ सँग बजारिएर ५ करोड वर्षको अन्तरालमा हिमालय पर्वत उठ्यो, त्यसपछि नै मनसुनी वर्षाका कारण यस क्षेत्रमा हरियाली छायो, मानव बसोबासको लागि उर्वरभूमि बन्यो । प्राग्ऐतिहासिक समयमा बसाइँसराइ गर्दै मानिस यहाँ आउने जाने गर्न थाले, तर भिरालो र खोलाहरूले काटेको देश भएकोले यहाँ आएर बसोबास गर्नेहरूका विविध समुदाय उत्पत्ति भए, तिनको भाषा, रहनसहन र संस्कृति पनि फरक-फरक हुनपुग्यो । हाम्रो देशले २०७२ को संविधानअन्तर्गत आत्मसात् गरेको समावेशिता हाम्रो भूगोलले दिएको जनसांख्यिक विविधतामा आधारित छ ।
आर्थिक नीतिनिर्माण र संरचनाहरूको निर्माणलाई भूगोलको ज्ञानले सघाउने काम मात्र गर्दैन, यो अपरिहार्य नै छ । भूगोलको ज्ञानले विश्वव्यापी मौसम परिवर्तन बारे हामीलाई अझ सचेत गराउँछ र पृथ्वीको बढ्दो तापक्रमले ‘पर्माफ्रस्ट’ (हिउँले बाँधेको गेग्रान) कसरी पगाल्दैछ भन्ने बुझाउँछ । पूरै हिमाली शृंखलाको फेदमा लाखौं वर्ष बरफले बाँधेर राखेको अर्बौं टन ढुंगा-धूलो बढ्दो विश्व तापमानका कारण कमजोर बन्दैछन् । यतातिर ध्यान गएको भए शायद २० वर्षको समय र २५ करोड डलर खर्च गरेर बनाएको मेलम्ची खानेपानी आयोजना बारे सोचिन्थ्यो कि, भोटेकोशीमा त्रिशूली बजारदेखि माथि टिमुरेसम्म झन्डै १५० करोड डलर लगानी गरेर खडा गरिएका र अहिले ध्वस्त भएका एक दर्जन जलविद्युत् आयोजना निर्माण अघि नै अलि सच्चिन्थ्यो कि ?
भूगोलको सामान्य ज्ञानले आफैंमा सन्तुष्टि दिन्छ भने भौगोलिक बुझाइले मुलुकको विगत बुझ्न र सुरक्षित भविष्यको खाका कोर्न सहयोग गर्छ ।
कुनै कारण विना पनि आफ्नो भूगोल र भौतिक परिवेश प्रति नागरिकमा जिज्ञासा र साधारण चासो हुनुपर्ने हो । काठमाडौं उपत्यकाको उत्पत्ति के, कसरी हो ? यो आफैं एउटा कौतूहलको विषय छ, जबकि २५०० किमी लामो हिमाली शृंखलाछेउ यो एक कचौरा आकारको फराकिलो उपत्यका बन्न पुग्यो ।
पोखरा उपत्यकाको बान्की बुझन पनि भूगोल चाहियो नै । मात्र ८०० वर्ष अगाडि आएको महाभूकम्पका कारण आजको अन्नपूर्ण-४ हिमालको ठूलो भाग भासियो र तलको पूरै उपत्यकालाई चट्टान, ढुंगा र माटो-बालुवाले पुरेर समथर बनाइदियो । यसैले पोखरा शहर गेग्रानको थुप्रो माथि बसेको छ र यसै कारण परेको पानी यहाँ अडिंदैन । पोखराको मैदानमा उठेका टापु जस्ता थुम्काहरू ८०० वर्ष अघि अग्ला-अग्ला पहाडका टुप्पा थिए ।
भूगोल जान्नाले शहरीकरण कसरी गर्ने/नगर्ने (सबैलाई अहिले लागेको बेनी बजारको खतरा) वा राजमार्ग कसरी नबनाउने भन्ने बुझन सकिन्छ । फर्केर हेर्दा पहाडै पहाड अघोर-सिमभञ्ज्याङ र टिस्टुङ हुँदै नौबिसे झर्ने भारतीय सहयोगमा बनेको त्रिभुवन राजपथ (‘बाइरोडको बाटो’) नै उपयुक्त देखिंदै गयो । पछिका दशकमा चिनियाँ सहयोगमा बनेका नदी किनार दौड्ने राजमार्ग (पृथ्वी राजमार्ग, अरनिको राजमार्ग) कति उपयुक्त रहे ? जबकि यी राजमार्ग नदीको कटान र पहिरोले भत्केको भत्केकै छन् ।
भूगोलको सामान्य ज्ञान आफंैमा रमाइलो पनि छ । जस्तै; काठमाडौंबाट नारायणघाटतर्फ जाँदा पहिला त्रिशूली नदीमा बूढीगण्डकी मिसिन्छ, अनि लगत्तै मस्र्याङ्दी, सेती, कालीगण्डकी । यीमध्ये कुन नदी तिब्बतदेखि हिमाल छिचोल्दै झरेको छ ? कुन चाहिं नेपाल भित्रकै उत्पत्ति हुन् ? कालीगण्डकी नदी माथितिर लाग्दा धौलागिरि र अन्नपूर्ण शृंखला बीच बग्दा किन यसलाई ‘विश्वकै गहिरो खोल्सा’ भनिन्छ ? अनि कालीगण्डकीको उद्गम भौगोलिक हिसाबले तिब्बती पठारको अंश हो भने नेपालका अरू कति क्षेत्र त्यस्ता छन् ?
पूर्वी नेपालको चीन-तिब्बत सिमाना हिमालय पर्वतको पानीढलो अन्तर्गत कहाँसम्म पर्छ भन्ने कुराले भौगोलिक अर्थ मात्र राख्दैन, सांस्कृतिक, भूराजनीतिक र सामरिक महत्व पनि राख्छ । कञ्चनजङ्घादेखि जुगल हिमालसम्मको हिमाली धार नै दुई देश बीचको सिमाना रहेको छ, तर लाङटाङमा आएर यो पूरै पर्वत नेपालभित्र पर्छ । लाङटाङभन्दा पश्चिमतर्फ गणेश हिमाल शृंखलाका केही चुचुरा नेपालभित्र पर्छन् भने त्यसभन्दा पश्चिमका सबै हिमशृंखला पूर्ण रूपमा नेपालका हुन्- जस्तै, मनस्लु, अन्नपूर्ण, धौलागिरि, अपि र साइपाल । र, यही ठाउँमा, सगरमाथा (एभरेस्ट, चोमोलोङ्मा) नेपालको शान र धरोहर भन्दै गर्दा भौगोलिक हिसाबले यो नेपाल र चीन बीच आधा-आधा बाँडिएको छ भन्ने तथ्य पनि बिर्सनुहुँदैन । इतिहास (सीमा रेखाङ्कन कार्य) र भूगोल राम्ररी नबुझनेले ‘सगरमाथा पूरै नेपालको होइन है’ भन्नेलाई दुत्कार्ने गर्छन् ।
नेपाल र नेपालीले देश र आफूलाई राम्रोसँग चिन्न पाएका छैनन्, भूगोलको पर्याप्त ज्ञान नहुनाले । र, यसैकारण राजकाज, अर्थतन्त्र, संरचना निर्माण, बसोबास निर्धारणको सहज व्यवस्थापन गर्न सकेका छैनौं । भूगोल र अर्थतन्त्रको सम्बन्धको सही आकलन नभएकोले संविधान लेखनको बेला जताततै गाउँ बस्तीलाई ‘नगरपालिका’ अन्तर्गत ल्याइयो । मधेशी अभियन्ताले समेत अडान नराख्दा ‘सुनकोशी-कमला’ डाइभर्सन नभई भारतको दबाबमा ‘सुनकोशी-मरिन’ डाइभर्सन अगाडि बन्नपुग्यो, जबकि भूबनोट र ढलानका कारण कमला डाइभर्सन नै मधेश प्रदेशको लागि बढी फाइदाजनक हुन्थ्यो । सुनकोशी-कमला योजना बनाएको भए भारतले कोशीमा बनाउन खोजेको उच्च बाँधको उचाइ अलि घटाउनु पथ्र्यो । कोशी प्रदेशमै पनि, उक्त प्रस्तावित उच्च बाँध बारे धेरै सोच र चिन्ता छैन । किनकि उच्च बाँधपछि त्यहाँ बन्न जाने बृहत् डुबान क्षेत्र हाम्रो कल्पनामै छैन ।
लिम्पियाधुरा त्रिकोणको बारेमा जनमानसमा चासो नै बढी हुन्थ्यो होला- यदि सुगौली सन्धिले महाकाली नदीलाई सिमाना बताइरहँदा महाकालीको मूलधार चाहिं सिधै उत्तर जाने लिपुलेकतर्फको सानो खोला नभई पश्चिम-उत्तर बग्ने कुती याङ्ग्री नदी हो भन्ने बुझाइ- भूगोलमा आधारित ज्ञान पर्याप्त भइदिएको भए अझै गम्भीर हुनसक्थ्यो ।
स्कूल-कलेजमा भूगोल पढाइमा यति हेलचेक्र्याइँ भएको छ कि नेपालका विद्यार्थीहरू आफ्नो मुलुकलाई गहिराइमा बुझनबाट वञ्चित छन् । यस्तो ‘भौगोलिक देश’ छ हाम्रो, तर यसबारे उत्साह र अनुसन्धानको कति ठूलो खडेरी !
‘शिक्षक मासिक’ असोज २०८३ बाट साभार





















