दैलेख– दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गर्दा श्रीमती र दुई सन्तानको मृत्यु भएको छ भने एक छोरा गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार ३८ वर्षीय अम्बर सलामी मगरले शुक्रबार बिहान घरायसी विवादका क्रममा श्रीमती मनिषा सलामी मगरसहित तीन सन्तानमाथि बन्चरो प्रहार गरेका थिए ।
घटनामा ३५ वर्षीया मनिषा, १२ वर्षीय छोरा तपेन्द्र र ३ वर्षीया छोरी करिस्माको मृत्यु भएको छ ।
६ वर्षीय छोरा मिलन गम्भीर घाइते छन् ।
उनको प्रदेश अस्पताल कालागाउँ, सुर्खेतमा उपचार भइरहेको छ ।
घटनापछि प्रहरीले अम्बरलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्






















