काठमाडौं – लेबनानका राष्ट्रपति जोसेफ आउनले लेबनानको आन्तरिक मामिलामा इरानले गरिरहेको हस्तक्षेपको निन्दा गर्दै आफ्नो देशको दक्षिणी भूभागबाट इजरायली सेना फिर्ता लैजान माग गरेका छन् । लेबनानको ८३औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शनिबार सम्बोधन गर्दै राष्ट्रपति आउनले लेबनानले दुईवटा एकअर्कासँग जोडिएका गम्भीर चुनौतीको सामना गरिरहेको बताए । तीमध्ये पहिलो आफ्नो भूमिको केही भागमा रहेको इजरायली कब्जा र दोस्रो इरानी शासनका केही प्रभावशाली पक्षबाट हतियार तथा लेबनानी राज्यको अधिकार क्षेत्रबाहिरका निर्णयमार्फत भइरहेको विदेशी हस्तक्षेप रहेको उनले उल्लेख गरे ।
यी दुईवटा आधारभूत अवरोध एकअर्कासँग अभिन्न रूपमा जोडिएकाले लेबनानले पूर्ण रूपमा स्वतन्त्रता दिवस मनाउन नसकेको उनले बताए ।राष्ट्रपति आउनले इजरायललाई सम्बोधन गर्दै भने, ‘लेबनानको भूमिको एक–एक इन्चबाट सेना फिर्ता लैजाऊ। आफ्ना आक्रमण बन्द गरे । र हाम्रा बन्दीहरूलाई फिर्ता गर ।”इजरायलका हिरासत केन्द्रमा दर्जनौँ लेबनानी नागरिक रहेको विश्वास गरिएको छ । उनीहरूमध्ये सर्वसाधारण नागरिकका साथै दक्षिणी लेबनानमा भएको युद्धका क्रममा पक्राउ परेका हिजबुल्लाहका सशस्त्र सदस्यसमेत छन् ।
राष्ट्रपति आउनले देशका सबै हतियार राज्यको नियन्त्रणमा ल्याउने योजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । विदेशी शक्तिको आदेशमा चल्ने वा तिनको स्वार्थ पूरा गर्ने कुनै पनि हतियार राज्यको नियन्त्रणबाहिर नरहने उनले स्पष्ट पारे । उनले भने, “तिमीहरूले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्छ।” लेबनान सरकारले इरान समर्थित समूह हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने प्रतिबद्धता जनाउँदै आएको छ । हिजबुल्लाहसँग रहेको हतियारको भण्डार लेबनानी राष्ट्रिय सेनाको तुलनामा निकै ठूलो छ । इजरायलको प्रतिरोध गर्न आवश्यक रहेको भन्दै हिजबुल्लाहले लामो समयदेखि आफ्ना हतियार राख्दै आएको छ ।
अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि लेबनान र इजरायलले जुन महिनामा एउटा रूपरेखा सम्झौतामा हस्ताक्षर गरेका थिए । उक्त सम्झौतामा हिजबुल्लाहलाई निःशस्त्रीकरण गर्ने, दक्षिणी लेबनानबाट इजरायली सेना क्रमशः फिर्ता गर्ने र त्यस क्षेत्रमा लेबनानी सेना परिचालन गर्ने विषय समेटिएका थिए । सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्न सकेको छैन। हिजबुल्लाहले आफ्ना हतियार बुझाउन अस्वीकार गरिरहेको छ भने इजरायलले लेबनानमाथि आक्रमण जारी राखेको छ ।
इजरायली आक्रमण
शनिबार दक्षिणी लेबनानका नबातियेह, बिन्त जबेल र मार्जायुन जिल्लामा इजरायलले हवाई आक्रमण गरेको छ । अलजजिराका संवाददाताका अनुसार एउटा हवाई आक्रमण बिन्त जबेल जिल्लाको बाराचित सहरको बाहिरी क्षेत्रमा भएको थियो । उनीहरूका अनुसार बिहानै बाराचित क्षेत्रमा इजरायली सेनाले गोलीबारी गरेको थियो । साथै, सहरको बाहिरी क्षेत्रमा इजरायली सैन्य सवारीसाधनहरू आवतजावत गरिरहेको देखिएको थियो ।
लेबनानको राष्ट्रिय समाचार संस्था ९एनएनए० का अनुसार नबातियेह जिल्लाको कफर तेब्नित सहरमा इजरायली युद्धविमानले दोस्रोपटक क्षेप्यास्त्र आक्रमण गरेको थियो । यसअघि प्रहार गरिएको क्षेप्यास्त्र विस्फोट हुन नसकेपछि दोस्रो आक्रमण गरिएको समाचारमा उल्लेख छ । एनएनएका अनुसार इजरायली सेनाले मार्जायुन जिल्लाको वादी अल खियाम क्षेत्रमा तीनवटा विस्फोट गराएको थियो । त्यसबारे थप विवरण सार्वजनिक गरिएको छैन ।
मार्च २ देखि हिजबुल्लाह र इजरायलबीच पछिल्लो युद्ध सुरु भएयता दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट कम्तीमा ४ हजार ३८६ जनाको मृत्यु भएको छ भने १२ हजार ४०७ जना घाइते भएका छन् । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ अक्टोबरमा गाजामा इजरायलले युद्ध सुरु गरेयता लेबनानमा भएका इजरायली आक्रमणबाट ८ हजार ९५३ जनाको मृत्यु भएको छ भने ३० हजार ६४३ जना घाइते भएका छन् ।






















