images
images
  • गर्भवती अवस्थामा पनि सात वटा विश्व म्याराथन पूरा गर्ने डीड्र्रे केनको असाधारण सफलता

    काठमाडौं – एपी ,डीड्र्रे केनले नयाँ चुनौतीका रूपमा विश्वका प्रमुख म्याराथन प्रतियोगिताहरू पूरा गर्ने लक्ष्य राख्दा उनी यसअघि नै ६० भन्दा बढी म्याराथन दौडिसकेकी थिइन् । तर गर्भवती अवस्थामा ती प्रतियोगिताहरू दौडनुपर्ने हुन्छ भन्ने उनले कल्पना गरेकी थिइनन् ।

    यसै महिनाको सुरुवातमा ३८ बर्सिया नर्स प्राक्टिसनर तथा व्यवस्थापन परामर्शदाता केनले आफ्नो गृह नगरको प्रतियोगिता न्युयोर्क सिटी म्याराथन दौडिन् । त्यति बेला उनी गर्भावस्थाको तेस्रो त्रैमासिकमा थिइन् । गर्भवती अवस्थामा उनले पूरा गरेको यो सातौँ म्याराथन थियो । यससँगै एउटै वर्षमा विश्वका सबै प्रमुख म्याराथन प्रतियोगिता पूरा गर्ने उनको लक्ष्य पनि पूरा भयो ।

    केनले भनिन्, “गर्भावस्थाको ३४औँ हप्तामा म्याराथन दौडनु कति असामान्य कुरा हो भन्ने मलाई थाहा थियो । तर म कति फिट छु र आफ्नो शरीरको अवस्थाबारे कति सचेत छु भन्ने पनि मलाई थाहा थियो । यो निकै असामान्य भए पनि यस्तो गर्ने म पहिलो महिला भने थिइनँ ।”

    गत वर्ष विवाह गरेपछि केन र उनका श्रीमान् ब्रायनले परिवार सुरु गर्ने विषयमा कुराकानी गर्न थालेका थिए । गर्भवती हुन केही समय लाग्न सक्ने अनुमान गर्दै केनले त्यसबिच आफ्ना लागि अन्य योजनाहरू बनाइन् । उनले विगत सम्झँदै भनिन्, “मेरो विचारमा सन् २०२६ आफ्ना अधुरा सपना पूरा गर्ने वर्ष हुनेवाला थियो । परिवार बसाउने, गर्भवती हुने र आमा बान्नुअघिको यो मेरो अन्तिम अवसर हुनेछ भन्ने लागेको थियो ।”

    उनले ११ वटा प्रतियोगितामा नाम दर्ता गराइन् । जसमा विश्वका सात प्रमुख म्याराथन, आयरल्यान्डको एउटा ट्रेल म्याराथन, दुई वटा अल्ट्रा म्याराथन र एउटा आइरन म्यान प्रतियोगिता समावेश थिए । केनले मार्चमा टोकियो म्याराथनबाट आफ्नो अभियान सुरु गरिन् । तर अप्रिलमा बोस्टन र लन्डन म्याराथनको समय आउँदा उनले आफू सामान्यभन्दा केही सुस्त दौडिरहेको र शरीरमा पहिलेको जस्तो ऊर्जा महसुस नभएको थाहा पाइन् । त्यसपछि उनले गर्भावस्था परीक्षण गराइन् ।

    परीक्षणको नतिजा सकारात्मक आयो। तर त्यसले आफ्नो लक्ष्य पूरा गर्ने योजनामा बाधा पुर्‍याउन नदिने उनले निर्णय गरिन् । उनले आयरल्यान्डमा हुने अर्को म्याराथन बिस्तारै दौडने वाचा श्रीमान्सँग गरिन् । साथै, आइरन म्यान र दोस्रो अल्ट्रा म्याराथनमा सहभागी नहुने निर्णय पनि गरिन् । गर्भवती भएको थाहा पाउनुअघि नै उनले पहिलो अल्ट्रा म्याराथन भने पूरा गरिसकेकी थिइन् ।

    केनले भनिन्, “सुरुमा ब्रायन स्वाभाविक रूपमा चिन्तित र सशङ्कित थिए । गर्भावस्थामा शरीरले कति शारीरिक गतिविधि धान्न सक्छ र किन भन्ने कुरा हामी दुवैले पूर्ण रूपमा बुझेका थिएनौँ । यस विषयमा उपलब्ध अनुसन्धान निकै सीमित र निराशाजनक रहेछ ।” उनले थपिन्, “त्यसैले हामीले एक पटकमा एउटा म्याराथन मात्र पूरा गर्ने निर्णय गर्‍यौँ। मैले दौडको गति नबढाउने र आवश्यक परे हिँड्न पनि तयार रहने सहमति गरेँ ।”

    म्याराथन दौडने आफ्नो योजनाबारे स्त्रीरोग विशेषज्ञलाई जानकारी गराउन सुरुमा केन केही डराएकी थिइन् । तर चिकित्सकले अनुमति दिएपछि उनी ढुक्क भइन् । उनले भनिन्, “न्युयोर्क म्याराथनसम्म आइपुग्दा म निकै गर्भवती देखिने भएकाले चिकित्सकले अन्तिमसम्म म दौडिन्छु भन्ने सोचेकी थिइनन् होला । तर म निकै जिद्दी र दृढ सङ्कल्प भएकी व्यक्ति हुँ। त्यसका साथै भाग्यवश मेरो स्वास्थ्य पनि राम्रो थियो। त्यसैले लक्ष्य पूरा गर्न सकेँ ।”

    सामान्यतया स्वस्थ गर्भावस्थामा व्यायाम गर्न सुरक्षित र लाभदायक मानिन्छ । गर्भवती हुनुअघि शारीरिक रूपमा सक्रिय रहेका वा नियमित रूपमा कठिन एरोबिक व्यायाम गर्ने महिलाले चिकित्सकको स्वीकृतिमा त्यस्ता गतिविधि निरन्तरता दिन सक्ने विशेषज्ञहरूको सुझाव छ । तर सिफारिस गरिएको सीमाभन्दा बढी तीव्र व्यायाम गर्दा पर्ने प्रभावबारे अनुसन्धान भने सीमित छ ।

    चिकित्सकको स्वीकृति लिएर केन अगस्टमा २५ हप्ताको गर्भवती अवस्थामा सिड्नी म्याराथनमा सहभागी हुन अस्ट्रेलिया पुगिन् । त्यसपछि गर्भावस्थाको २९औँ हप्तामा बर्लिन म्याराथन पूरा गरिन् । उनले गर्भावस्थाको ३१औँ हप्तामा सिकागो म्याराथन चार घण्टाभन्दा केही कम समयमा पूरा गरिन्। अन्तिममा ३४औँ हप्तामा न्युयोर्क सिटी म्याराथन ४ घण्टा ६ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । न्युयोर्क म्याराथनलाई लिएर उनी बढी चिन्तित थिइन् । उनले भनिन्, “त्यति बेला मेरो गर्भावस्था बाहिरबाट पनि स्पष्ट देखिन थालेको थियो र शारीरिक रूपमा पनि त्यसको प्रभाव महसुस भइरहेको थियो ।”

    तर दौडको मार्गमा उनका साथीहरू विभिन्न स्थानमा उपस्थित थिए । उनका श्रीमान् पनि पानी लिएर पटक–पटक विभिन्न स्थानमा पुगेका थिए, ताकि उनी शरीरमा पानीको कमी हुन नदिई दौड पूरा गर्न सकुन् । केनले भनिन्, “म्याराथनको १६औँ माइलमा दौडको मार्ग वेइल कर्नेल अस्पतालको एक ब्लक नजिकैबाट गएको थियो । त्यहीँ मेरो प्रसूति हुने हो । त्यसैले त्यहाँ पुगेर बच्चा जन्माउन अस्पताल पस्ने वा दौड मार्गमा रहेका स्वास्थ्य स्वयंसेवकहरूको सीप परीक्षण गर्न बच्चा जन्माउनेजस्तो असामान्य चिकित्सकीय अवस्था सिर्जना गर्ने विषयमा धेरै ठट्टा पनि भए ।”

    केनको दृढ सङ्कल्पको प्रेरणा उनलाई सानै उमेरमा आफ्ना बुबा जोनबाट मिलेको थियो । आयरल्यान्डबाट अमेरिका आएका उनका बुबाले सन् १९८० र १९९० को दशकमा म्याराथन दौडने गरेका थिए । केन १३ वर्षकी हुँदा उनका बुबाको क्यान्सरका कारण निधन भयो। तर जीवनको अन्तिम महिनासम्म पनि उनले दौडन छाडेनन् । केनका अनुसार ट्युमर हटाउने शल्यक्रिया गर्नुभन्दा एक दिनअघि उनले आफ्नो अन्तिम न्युयोर्क सिटी म्याराथन पूरा गरेका थिए ।

    वर्षौँपछि कलेज पढ्न थालेकी केनले बुबाको सम्मानमा एउटा म्याराथन दौडने प्रेरणा पाइन्। त्यहीँबाट उनलाई म्याराथनप्रतिको लगाव बढ्दै गयो । उनले भनिन्, “सुरुदेखि नै मलाई म्याराथन मन पर्थ्यो । किनकि यसले मानिसको शरीरले के–कति गर्न सक्छ भन्ने देखाउँछ । त्यो शारीरिक क्षमतामा मात्र सीमित हुँदैन, मानसिक क्षमताको पनि परीक्षा हो । मैले आफूमा कति धैर्य र दृढता रहेछ तथा कठिन परिस्थितिलाई पार गर्न आफू कति सक्षम रहेछु भन्ने महसुस गरेँ ।”

    त्यसयता दौड उनको जीवनको अभिन्न हिस्सा बनेको छ। कोभिड–१९ महामारीका बेला न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा नर्स प्राक्टिसनरका रूपमा काम गर्दा परेको मानसिक तथा भावनात्मक दबाब सामना गर्न पनि दौडले सहयोग गरेको उनी बताउँछिन् ।

    महामारीका बेला एक्लोपन महसुस भइरहेका बेला र भविष्यमा केही गर्ने आशा आवश्यक परेपछि केनले ‘वर्ल्ड म्याराथन च्यालेन्ज’ मा सहभागी हुने निर्णय गरिन्। यस चुनौतीअन्तर्गत सात दिनभित्र सात वटा महादेशमा सात वटा म्याराथन पूरा गर्नुपर्छ ।उनले सन् २०२३ मा यो चुनौती पूरा गरिन् र त्यही वर्ष सहभागी महिलामध्ये सबैभन्दा छिटो दौड पूरा गर्ने खेलाडी बनिन् ।

    विश्वका प्रमुख म्याराथन प्रतियोगिताहरू पूरा गरेपछि अहिले केन पछिल्ला आठ महिनाका अनुभवबारे सोचविचार गरिरहेकी छन् । आफ्ना बुबाबाट सिकेको प्रेरणाजस्तै दौडले आफूलाई सिकाएका पाठहरू अब आफ्नो छोरालाई पनि सिकाउन चाहेको उनी बताउँछिन् । उनले भनिन्, “म आफ्नो छोरालाई धैर्य, सहनशीलता र कठिन काम पनि पूरा गर्न सकिन्छ भन्ने कुरा सिकाउन चाहन्छु । जीवनमा कठिन समय आउँछन् र विभिन्न चुनौतीको सामना गर्नुपर्छ । त्यस्तो बेला उसले हार नमानी अगाडि बढ्न र कठिन परिस्थितिबाट बाहिर निस्कन सिक्नुपर्छ । चाहे ती चुनौती हामीले म्याराथनजस्तै आफैँले रोजेका किन नहुन् वा हाम्रो नियन्त्रणभन्दा बाहिरका परिस्थितिले सिर्जना गरेका किन नहुन् ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images