images
images
  • पर्सामा एक महिनामै ११८ अपराधका घटना दर्ता, आपराधिक पृष्ठभूमिका ३५ जनाको प्रोफाइल तयार

    काठमाडौं – पर्सा जिल्लामा अपराध नियन्त्रण तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूको निगरानी बढाएको छ । प्रहरीले विगतका घटनामा संलग्नताका आधारमा ३५ जनाको आपराधिक प्रोफाइल तयार गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गत कात्तिक महिनामा जिल्लाभर विभिन्न प्रकृतिका ११८ वटा अपराधसम्बन्धी उजुरी दर्ता भएका छन् । सोही अवधिमा विभिन्न मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२ जनालाई पक्राउ गरिएको छ ।

    दर्ता भएका घटनामध्ये आर्थिक अपराधका ४९, सङ्गठित तथा सामाजिक अपराधका २२, ज्यानसम्बन्धी ११, आत्महत्याका आठ, चोरीसम्बन्धी आठ, बालबालिकासम्बन्धी चार, सवारी ज्यानका दुई र अन्य प्रकृतिका १४ घटना रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रहरीले विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।

    यसै अवधिमा अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी मुद्दाका ८५ जना पक्राउ परेका छन् । अदालतको फैसलाअनुसार उनीहरूबाट ३२ लाख सात हजार ६३२ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने रहेको प्रहरीले जनाएको छ । कात्तिक महिनामा कर्तव्य ज्यान र हातहतियारसम्बन्धी एक–एक तथा बैङ्किङ कसुरका १४, ठगी र मुद्रासम्बन्धी दुई–दुई वटा घटना दर्ता भएका छन् ।

    लागुऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले एक महिनामा १४ वटा मुद्दा दर्ता गरी संलग्न भएको अभियोगमा १७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ३८ ग्राम गाँजा, ६५ ग्राम ८५८ मिलिग्राम ब्राउनसुगर र १४ ग्राम ६४० मिलिग्राम चरेस बरामद गरिएको छ । त्यसैगरी, नाइट्राजेपाम ट्याब्लेट, बुप्रेनोर्फिनका २८ एम्पुल, डाइजेपामका ३७ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोराइडका १९ एम्पुलसमेत बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।

    लागुऔषध दुरुपयोग नियन्त्रण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले कात्तिक महिनामा ३१ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । ती कार्यक्रममा ५१४ जनाको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीले अपराध न्यूनीकरण र शान्तिसुरक्षा प्रभावकारी बनाउन जिल्लाका विभिन्न स्थानमा सीसीटीभी जडान, क्यूआर तथा डिजिटल निगरानी प्रविधिको प्रयोग र सामाजिक सञ्जालमार्फत निगरानी बढाएको छ । गोप्य सूचना सङ्कलन तथा नियमित गस्तीलाई समेत तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

    त्यसैगरी, आकस्मिक घटनामा तत्काल प्रहरी परिचालन गर्न मोबाइल क्विक रेस्पोन्स टोली परिचालन गरिएको छ । सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै रात्रिकालीन समयमा वरिष्ठ प्रहरी अधिकृतको कमान्डमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

    प्रहरीका अनुसार आपराधिक गतिविधिमा विगतमा संलग्न रहेका व्यक्तिहरूको पृष्ठभूमि, घटनामा संलग्नता र गतिविधिका आधारमा तयार गरिएका ३५ वटा प्रोफाइलले अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रहरी नायब उपरीक्षक मल्लले अपराध न्यूनीकरण र जिल्लाको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निगरानी तथा अनुसन्धानका कामलाई निरन्तरता दिइएको जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images