काठमाडौं – नेपालले अन्तर्राष्ट्रिय उडानका लागि पश्चिमी क्षेत्रबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन गरेको प्रस्तावमा भारतसँग अझै सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको पूर्वसन्ध्यामा नेपाल र भारतबीच हवाई प्रवेश मार्गसम्बन्धी विषयमा अन्तिम चरणको वार्ता भइरहे पनि केही प्राविधिक तथा सुरक्षा विषयमा मतभेद कायम रहेको छ ।
नेपालले पश्चिमी नेपाल हुँदै अन्तर्राष्ट्रिय विमानलाई प्रवेश र बाहिरिने दुवै सुविधा उपलब्ध गराउने गरी काठमाडौं–महेन्द्रनगर (एल–६२६) हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन प्रस्ताव गरेको छ । तर, भारतीय पक्षले अघि सारेका केही सर्तमा नेपालले असहमति जनाएपछि सहमति हुन नसकेको वार्तामा सहभागी मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।
नेपाली अधिकारीहरूका अनुसार भारतले बागडोगरा प्रवेश विन्दुबाट आफ्ना सैन्य विमानलाई समेत उडान अनुमति दिनुपर्ने प्रस्ताव अघि सारेको छ । नेपालले भने उक्त हवाई मार्गबाट नागरिक विमानलाई मात्र उडान अनुमति दिन सकिने स्पष्ट पारेको छ । भारतीय पक्षको यो प्रस्ताव नयाँ भएकाले यस विषयमा थप छलफल भइरहेको स्रोतले जनाएको छ ।
त्यसैगरी, भारतीय हवाई क्षेत्रबाट नेपाल प्रवेश गर्ने विमानको उडान उचाइका विषयमा पनि दुई देशबीच मतभेद छ । भारतले विमानलाई ३९ हजार फिट उचाइबाट प्रवेश गराउनुपर्ने प्रस्ताव गरेको छ भने नेपालले त्यसलाई घटाएर करिब २९ हजार फिट कायम गर्नुपर्ने अडान राखेको छ ।
नेपालले लामो समयदेखि पश्चिमी क्षेत्रबाट अन्तर्राष्ट्रिय विमानलाई प्रवेश अनुमति दिन महेन्द्रनगर हवाई मार्ग दुईतर्फी सञ्चालनमा ल्याउन भारतसँग आग्रह गर्दै आएको छ । हाल उक्त मार्गबाट अन्तर्राष्ट्रिय विमानलाई नेपालबाट बाहिरिन मात्र अनुमति छ । भारतबाट नेपाल प्रवेश गर्न भने यो मार्ग प्रयोग गर्न पाइँदैन ।
सन् २००९ नोभेम्बर १९ देखि सञ्चालनमा आएको एल–६२६ हवाई मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउन सके पश्चिमी क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान सहज हुने नेपालको अपेक्षा छ । यसबाट विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानलाई थप सहज बनाउन सकिने विश्वास गरिएको छ ।
हाल नेपाल प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानले सीमित हवाई मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ । पश्चिमी क्षेत्रबाट थप प्रवेश मार्ग उपलब्ध भएमा अन्तर्राष्ट्रिय उडानको रुट व्यवस्थापनमा सहजता आउने, उडान समय तथा दूरी घटाउन सहयोग पुग्ने र भैरहवा तथा पोखरा विमानस्थलको अन्तर्राष्ट्रिय उडान विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा पनि यो विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरिएको छ । दुई देशबीच अन्तिम चरणको वार्ता भइरहे पनि भारतीय सैन्य विमानको उडान अनुमति र विमानको प्रवेश उचाइसम्बन्धी विषयमा सहमति जुट्न बाँकी छ । यी विषयमा सहमति भएपछि मात्रै पश्चिमी हवाई प्रवेश मार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढ्नेछ ।






















