काठमाडौं– अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता हुने क्रम तीव्र बन्दै गएको छ ।
सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार हालसम्म ६ वटा रिट निवेदन दर्ता भइसकेका छन्, भने थप निवेदनहरू पेश हुने क्रममा छन् ।
उनका अनुसार केही रिटले सरकार गठन प्रक्रियामाथि प्रश्न उठाएका छन् भने केहीले संसद् विघटनको वैधतामाथि चुनौती दिएका छन् ।
भदौ महिनामा जेन–जी प्रदर्शनका क्रममा सर्वोच्च भवनमा आगजनीपछि न्यायिक कामकारवाही प्रभावित भएको थियो ।
गत आइतबारको पूर्ण बैठकले रिट दर्ता खुला गर्ने निर्णय गरेसँगै पुनः रिट दर्ता सुरु भएको हो ।
भदौ २३–२४ को प्रदर्शनपछि केपी शर्मा ओली नेतृत्वको सरकार पतन भई संसद् विघटन भएको थियो ।
त्यसपछि जेन–जी युवाको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की असोज २७ गते प्रधानमन्त्री नियुक्त भइन् ।
उनको नेतृत्वमा बनेको अन्तरिम सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गर्ने म्यान्डेट पाएको छ ।























