काठमाडौं– पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगु संक्रमण तीव्र गतिमा बढ्दै गएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD) का अनुसार गत सातामात्र ४१३ जनामा डेंगु पुष्टि भएको छ ।
सन् २०२५ को सुरु अर्थात् गत पुसको मध्यदेखि हालसम्म देशभर ५,८७४ जनामा संक्रमण देखिएको छ ।
डेंगु ७५ जिल्लामा फैलिँदा हालसम्म ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो साता गण्डकी प्रदेशमा सबैभन्दा धेरै १५१ जना संक्रमित थपिएका छन्, त्यसपछि बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जनामा संक्रमण पुष्टि भएको हो ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट सर्ने डेंगु नेपालमा पहिलोपटक सन् २००४ मा चितवनमा भेटिएको थियो ।
सुरुवातमा तराईमा सीमित यो रोग सन् २०१८ पछि पहाडसम्म फैलियो र २०१९ मा व्यापक रूपमा देखियो ।
त्यसपछि हरेक वर्ष हजारौँ संक्रमित देखिन थालेका छन् ।
सन् २०२२ मा सबै ७७ जिल्लामा डेंगु फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भयो ।
२०२३ मा २० जनाको मृत्यु र ५२ हजारभन्दा बढी संक्रमित भेटिए भने २०२४ मा १५ जनाको मृत्यु र ४१,८६५ संक्रमित थिए ।
लक्षण र जोखिम :
१० हजार मानिसमध्ये करिब १ हजारमा लक्षण देखिन्छ, जसमा ज्वरो, टाउको दुखाइ, आँखाको गेडी, मांसपेशी, घुँडा र ढाड दुख्ने, राता दाना आउनु जस्ता लक्षण देखिन्छन् ।
ज्वरो घटेपछि ७२ घण्टासम्मको समय क्रिटिकल फेज मानिन्छ ।
जनस्वास्थ्यविद्हरूका अनुसार डेंगुको फैलावट बढ्दो तापक्रम, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन र लामो बर्खाका कारण बढ्दै गएको हो ।
बच्ने उपाय :
लामखुट्टेको टोकाइबाट जोगिनु नै डेंगु नियन्त्रणको मुख्य उपाय हो, बिहान–साँझ पूरा शरीर ढाक्ने लुगा लगाउने, झ्याल–ढोकामा जाली हाल्ने, झुलमा सुत्ने, धुप वा कीटनाशक प्रयोग गर्ने र पानी जम्ने स्थान (टायर, गमला, कन्टेनर आदि) नष्ट गर्ने ।
डेंगु सामान्य रोग होइन, दोस्रो पटक संक्रमण भएमा आन्द्रामा रक्तस्राव वा शरीरमा प्लाज्मा लिकेज भएर मृत्युको जोखिम हुन्छ ।
विशेषगरी बच्चा, वृद्ध र दीर्घरोगी व्यक्तिहरू बढी जोखिममा पर्ने भएकाले लामखुट्टेको वृद्धि रोक्नु नै सबैभन्दा प्रभावकारी उपाय हो ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्