काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहमा देखिएको जंङ्गी मोह उज्यालो संकेत होइन ।
‘हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस्— वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले २४ भदौ २०८२ अर्थात ९ सेप्टेम्बर दिउँसो ठिक ३.१५ मा सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस हो यो । मेयर साहले यो स्टाटस लेखिरहदा जेनजेड आन्दोलनभित्र घुसेका वितण्डताकारीहरुले झोसेको आगोले ऐतिहासिक धरोहर सर्वोच्च अदालत, सिंहदरबार, संघीय संसद भवन र राष्ट्रपति भवन शीतल निवासलगायत दनदन जलिरहेका थिए ।
आन्दोलनले उत्कर्ष रुप लिइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । जननिर्वाचित अर्थात सार्वभौम संसद कायमै थियो । राष्ट्र प्रमुख राष्ट्रपति रामचन्द्र पौडेल जिम्मेवारीमा यथावत थिए । सडकमा आन्दोलनकारीहरुले संकटको निकासका लागि ‘सेना प्रमुख चाहियोे भनेर हारगुहार गर्दै माग र नारा पनि लगाएका थिएनन् ।
खरानी बनिरहेको ऐतिहासिक धरोहरहरुको आगो निभाउन आन्दोलनकारीहरुसँग एक शब्द पनि अपिल नगरेका मेयर साहले एकाएक ‘सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुहोला’ भनेर स्टाटस लेखिदिए । सर्वोच्च अदालत, सिंहदरबार, संसद भवनलगायत धरोहरको त कुरै छाडिदिउँ, आफ्नै परमाधिपति राष्ट्रपतिको कार्यालय शीतल निवासमा झोसिएको आगो निभाउन समेत लाचार एवम् मुकदर्शक बनेका सेना प्रमुखलाई ‘सैन्य शासक’ को भोक जागृत गराइदिन मेयर साहले वार्ताका लागि किन आव्हान गरे ? मेयर बालेन्द्र साहमा पटक–पटक सैन्य मोह किन जागृत भइरहेको छ ? गुह्य तथ्य अझै खुलिसकेको छैन ।
जसै मेयर साहले जागृत गराईदिएको मृगतृष्णा अनुसार नै सेना प्रमुख अशोकराज सिग्देलले जङ्गी अड्डाभित्र जेनजी आन्दोलनका अगुवाहरुलाई वार्ताका लागि बोलाए । नेपाली सेनाका एक जना उपरथीका भनाइमा मेयर बालेन्द्र साहको उक्साहटको भूत सवार भएका सेना प्रमुख सिग्देलमा सत्ता हातमा लिने आकांक्षा जागृत भइसकेको थियो । ती उपरथीका अनुसार युएनमिसनप्रतिको आस र त्रास नभएको भए सिग्देलमा ‘तानाशाही शासक’ को मात चढिसकेको थियो । त्यसैका लागि उनी आन्दोलनकारीहरुको नाडी छाम्न थालिसकेका थिए ।
जानकारका अनुसार जेन जीको प्रतिनिधित्व गर्दै जंङ्गी अड्डाभित्र भएको वार्तामा रक्षा बमले प्रधान सेनापति अशोक सिग्देललाई सिधै प्रश्न गरेकी थिइन्, ‘के तपाईंले सैनिक कू गर्न लागेको हो ?’ बमको प्रश्नले सेनापति सिग्देललाई निमेषभरमै ठूलै झट्का लाग्यो । एकाएक उनको मनोकांक्षा गिर्यो । तत्कालै ‘होइन‘ भने । बमको त्यही एउटा प्रश्नले बालेन्द्र साहको सैन्य मोह त्यसदिन पराजित भएको थियो ।
बालेन्द्र साहमा एकदमै धेरै सैन्य मोह किन छ ? किनकी उनको सैन्य मोह यसपटक मात्र देखिएको वा उजागर भएको होइन । जंङ्गी अड्डासँग साहको हिमचिम उनी आफैँले पछिल्लो पटक औपचारिक रुपमा सार्वजनिक गरेका मात्र हुन् ।
१६ जेठ २०७९ मा साहले काठमाडौं महानगरपालिकाको मेयरको पदभार ग्रहण गरेका थिए । पदभार सम्हालेलगत्तै मेयर साह जंङ्गी अड्डा भद्रकाली पुगेर तत्कालीन प्रधान सेनापति प्रभुराम शर्मासँग भेट गरे । मेयरको शपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगी अड्डा पुगेर प्रधान सेनापतिसँग भेटवार्ता गरी ‘जंङ्गी मोह’ सार्वजनिक गर्ने संभवतः पहिलो व्यक्ति हुन् साह । त्यस भेटका क्रममा मेयर साहले विपद् व्यवस्थापनको क्षेत्र र राष्ट्रिय सुरक्षामा सेनाले पु¥याएको योगदानको प्रशंसा गरेका थिए ।

यता प्रधान सेनापति शर्माले चाहिँ मेयर साहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए । दुई जनाबीचको भेटवार्तामा महानगरपालिका र नेपाली सेनाबीच सहकार्य गरेर अघि बढ्ने कुरामा सहमति भएको थियो । भलै त्यो सहमति व्यवहारका कति लागु भयो ? औपचारिक रुपमा कहीँ, कतै देखिएको छैन ।
देशकै प्रमुख काठमाडौं महानगरपालिकाको मेयर भएकाले नेपाली सेनाले हरेक महत्वपूर्ण कार्यक्रममा त साहलाई निम्त्याउँछ नै, त्यसबाहेक अनौपचारिक रुपमा पनि उनको सेना प्रमुख र केही जर्नेलहरुसँग बाक्लै उठबस छ ।
जानकारका अनुसार अस्ति २३ भदौको जेनजी आन्दोलन, त्यो माथि तीव्र दमन, हत्या, अनि २४ भदौको विध्वसं, आगजनी, तोडफोड, लुटपाट भइरहदा पनि सेनापति सिग्देल र मेयर साहबीच २० पटक भन्दा बढी संवाद, सल्लाह भएको जंङ्गी अड्डा स्रोत बताउँछ । स्रोतका अनुसार मेयर साहकै सल्लाहमा सेनापति सिग्देलले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन लगाएका थिए भने त्यसका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई समेत ठूलै दबाब दिएका थिए । साह–सिग्देलको सल्लाहमै साहले ‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला’ भनेका थिए ।
यता मेयर साहकै ढाडस पाएर संविधान अनुसार नेपाली सेनाका परमाधिपति राष्ट्रपति हुँदाहुँदै सेनापति सिग्देलले जंङ्गी अड्डामा जेनजी प्रतिनिधिहरुलाई बोलाएर वार्ता गरेका थिए । यहाँ गम्भीर प्रश्न छ कि सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन, शीतल निवास जल्दा निभाउनलाई संविधान अनुसार सरकार वा परमाधिपति राष्ट्रपतिबाट ‘सेना परिचालनको आदेश’ पाएनौ भनेर आफ्नो बचाउ गरिरहेको सेनाले जंङ्गी अड्डाभित्र वार्ता गर्न चाहिँ परमाधिपतिबाट आदेश पाएको थियो ? संविधानको कुन धारामा टेकेर जंङ्गी अड्डाभित्र आन्दोलनका प्रतिनिधिहरुसँग वार्ता गरेको थियो ? सेनाले संस्थागत रुपमा तथ्यका आधारमा सत्य बोल्ने कि आफ्नो अनुकूलताका लागि पूर्वजर्नेललगायतलाई खरिद गरेर शब्दहरुको सार्वजनिक खपत गर्ने ?
अपवाद बालेन्द्र !
रोचक के भने मेयर बालेन्द्र साहको क्षेत्र र समुदाय सैन्य पेसाको ‘इन्फेन्ट्री’ रुचाउने होइन । ०६२/०६३ को दोस्रो जनआन्दोलनपछिलाई मात्र नियाल्ने हो भने नेपाली सेनाको भर्नामा पनि समावेशीकरण लागु गरिएको छ । जसका लागि अरु जस्तै ‘मधेसी क्लष्टर’ का लागि पनि रिक्रुटदेखि अधिकृत क्याडेटसम्मलाई कोटा छुट्याइएको हुन्छ । सैनिक मुख्यालय स्रोतका अनुसार समावेशीकरणका लागि छुट्याइएको उक्त मधेसी कोटा सधैँ अधुरो, अपुरो हुन्छ । कारण– सैन्य भर्नाका लागि जत्ति कोटा छुट्याइएको हुन्छ, त्यस समुदायबाट त्यति भर्ना हुन आउँदैआउँदैनन् ।
यस समुदायको पहिलो छनोट प्राविधिक (डाक्टर, इन्जिनियर, अहेव, जेटिए, शिक्षक, फरेष्टीलगायत) हो । विकट हिमाली जिल्ला सोलुखुम्बूदेखि मनाङ, मुस्ताङसम्म पुगेर उनीहरु डाक्टर, इन्जिनियर, अहेव, जेटिए, शिक्षक, वन विभाग लगायतमा काम गर्न रुचाउँछन् । तर, अपवादबाहेक सेनाको ‘इन्फेन्ट्री’ मा जागिर खान रुचाउँदैनन् । स्मरणीय के छ भने २०४७ सालमा तत्कालीन अन्तरिम सरकारको नेतृत्व गर्दै कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा गएका थिए । त्यहाँ भारतीय सञ्चार माध्यमले प्रधानमन्त्री भट्टराईलाई तत्कालीन शाही नेपाली सेनामा ‘मधेसी’ हरुको न्यून सहभागितामाथि प्रश्न उठाएका थिए । भट्टराईले त्यो जवाफ उनीहरुतिरै फर्काइदिएका थिए ।
मेयर बालेन्द्र साहले पनि पढेको प्राविधिक (इन्जिनियर) हो । तथापि राजनीतितिर मोडिएपछि उनमा एकदमै धेरै सैन्य मोह देखिन्छ । साहको कार्यशैली, महानगरपालिकाको ‘बोर्ड’ बैठकमा उनको प्रस्तुति, उनको हिडाई, बोलाईलगायत ‘चरित्र’ नियाल्ने हो भने सैन्य शासकको झल्को मिल्छ ।
जस्तो कि जसरी जङ्गी अड्डाको बैठकमा प्रायशः अरुका कुरा सुन्नु, अन्तरक्रिया गर्नु भन्दा जर्नेलहरु आफ्नो आसनमा बसेर आफ्ना कुराहरु राखेर हिड्छन्, आफूभन्दा तलका कुरा त अपवाद बाहेक सुन्दै सुन्दैनन्, ठिक त्यही शैलीमा महानगरको कार्यकारी परिषद्लगायत बैठकमा समेत मेयर साह आफ्ना कुरा सुनाउन मात्र उद्यत हुन्छन् । जंङ्गी अड्डाको बैठक शैलीमै अरुका कुरा सुन्न उनलाई रौँ बराबर रुची हुन्न । महानगरको बोर्ड बैठकमै उनको त्यो शैलीको चर्को बिरोध हुने गरेको छ ।
२७ असार २०८२ को बिहान ११ बजे मेयर साहले काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक बोलाएका थिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्थाअनुसार स्थानीय तहको कार्यपालिका बैठक महीनामा एकपटक अनिवार्य बस्नुपर्ने हुन्छ । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादले सात महिनापछि कार्यपालिका बैठक बोलाइएको थियो । सात महिनापछि बसेको कार्यपालिका बैठक साहले १ मिनेट ८ सेकेन्डमा सिध्याएका थिए ।
‘काठमाडौं महानगरपालिकाको ४० औँ कार्यपालिका बैठकमा उपप्रमुख, कर्मचारी साथीहरू, कार्यपालिका साथीहरू सबैलाई स्वागत गर्न चाहन्छु,’ साहले भनेका थिए, ’एजेन्डामा २४ वटा गएको भए पनि आज एउटा मात्र एजेन्डा राख्ने कुरा भएको छ । प्रस्ताव नम्बर १ मा रहेको काठमाडौं महानगरपालिकाको १७ औँ नगरसभा अधिवेशन मिति तोक्ने सम्बन्धमा मिति २९ गते दिउँसो २ बजे नगरसभा र बिहान ९ बजे कार्यपालिका बस्ने जानकारी गराउन चाहन्छु । अन्य केही विषय नभएकाले बैठक सम्पन्न गर्न चाहन्छु ।’
१ मिनेट ८ सेकेन्डमा माथि उल्लेखित वाक्य बोलेर मेयर साह बैठक कक्षबाट बाहिरिएका थिए । साहको सचिवालयमा कार्यरत एक जना सल्लाहकार भन्छन्, “उहाँ खासै अन्तरक्रिया, सुझाव, सल्लाह रुचाउनु हुन्न । आदेश दिन नै रुचाउनु हुन्छ ।”
व्यक्ति, राजनीति र घटनाक्रमलाई सुष्म ढंगले अध्ययन गर्ने अधिवक्ता विनोद कार्कीका शब्दमा मेयर बालेन्द्र साहको चरित्र राजनीतिक नेता–कार्यकर्ताको जस्तो फरासिलो, सबैसँग घुलमिल हुने, जनमुखीभन्दा सैन्य शासकको जस्तै देखिन्छ । अधिवक्ता कार्कीको अध्ययन निष्कर्ष छ, “मेयर बालेन्द्र जनतासँग अन्तरक्रिया गर्न, उनीहरुका दुःख, पीडा बुझ्न त चाहदैनन् नै, आफ्नै कार्यपालिकामा निर्वाचित जनप्रतिनिधिहरुसँग पनि मेयर बालेन्द्रले संवाद गर्न नचाहेको देखिन्छ । उनमा सैनिक शासक हुने भोक देखिन्छ ।”
पटक–पटकका घटनाले साबित गरिरहेका छन् कि मेयर बालेन्द्र साहमा संविधानप्रदत्त व्यवस्थाप्रति निकै नै ‘एलर्जी’ छ ? मेयरमा निर्वाचित भएका दिनदेखि नै उनी कहिल्यै संविधान र संवैधानिक व्यवस्थाप्रति सन्तुलित भएनन् । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा संघीय संसदका निवर्तमान सदस्य सूर्य थापा मेयर बालेन्द्रलाई तानाशाहको मात्र होइन, अपराधीकै संज्ञा दिन्छन् । झर्रो, खरो र निडर स्वभावका थापा विश्व खबरसँग भन्छन्, ‘बालेन्द्र साह सैन्य मोह भएको व्यक्ति हो, होइन त्यो अर्कै कुरा हो । सैन्य मोह भएको व्यक्ति पनि समझदार र नरम हुन सक्छ । तर, बालेन्द्र साह विदेशीको शिखण्डी राज्य विध्वंसक अपराधी हो ।”

थापाले आज २२ असोज बिहान ठिक ८ बजे सामाजिक सञ्जाल फेसबुकमा मेयर बालेन्द्रको नाम उल्लेख नगरी तर स्पष्ट बुझिने शब्दमा लेखेका छन्,
“दमकल नपठाउने अपराधी उही थियो र दमकल रोक्ने भिड पनि उसकै थियो । सिंहदरबार, शितल निवास, सर्वोच्च अदालत र संसद भवन उसकै भिजिलान्तेहरूले जलाएका थिए भन्ने छर्लङ्ग भइसकेको तथ्य छ ।
भदौ २४ गते ५४ जना मान्छेको जसरी ज्यान गयो, त्यही रहस्यमय लुसिफर डार्कम्यानकै उक्साहटमा नै गएको थियो । ऊ विदेशीको शिखण्डी र अपराधी हत्यारा हो । राजधानीको मेयरको कुर्सीमा एक मिनेट पनि बस्न लायक छैन ।’
समाज अध्येता एवम् विश्लेषक यादव देवकोटाले २२ असोज बिहान ७.७ मा मेयर बालेन्द्र साहलाई लसिक्षत गर्दै लामो स्टाटस लेखेका छन्,
‘ठेलागाडामा सामान ओसार्ने, जीवन धान्न सडकमा सामान्य व्यापार गर्ने निमुखाहरुलाई निर्मम तवरले हमला गर्ने, लछारपछार गर्ने, हुलहुज्जत गर्दै वेदखल गर्ने नाइकेले मानवताको कुरा गरेछ । यस्तो लाग्छ – मानवता भनेको उसको लागि मन लागेको बेला पहिरिने लगौंटी हो ।

सिंहदरबार जलाउन सामेल भएको आरोप लगाइएको छ भनेर रुन्चे सफाइको कोशिस रहेछ । सिंहदरबार जलाउन तिमी आफैं गयौ कसैले भनेको छैन । सिंहदरबारजस्ता सार्वजनिक सम्पत्तिमा आगो लगाउने उत्तेजनाको भाष्य वितरण गर्यौ र त्यही तिमीले वितरण गरेको भाष्यको राँको लिएर तिमीले हिस्टेरिया वितरण गरेकाहरुले सिंहदरबार जलाए भनेको हो ।
आवेगमै सही– सिंहदरबार जलाइदिन्छु भनेर मानिसलाई ’सिंहदरबार’ भनेको जलाइदिने भवन हो भन्ने भाष्य वितरण गरेकोमा माफी माग्यौ कहिल्यै ?

आवेगमै सही– मन नपरेकालाई टुकुचामा गाड्नुपर्छ भन्ने मास हिस्टेरिया वितरण गर्नु गलत थियो भनेर माफी माग्यौ ?
तिमीले असहमति हुँदैमा राष्ट्रिय धरोहर जलाइदिने भाष्यको विष वितरण गर्न हुने, असहमतलाई टुकुचामा गाड्नुपर्छ भन्ने मास हिस्टेरिया वितरण गर्न मिल्ने– अरुले तिमीलाई त्यसरी समाजमा विष वितरण गर्दाको परिणामको जिम्मेवारी लेउ भन्दा तिल्मिलाउने ?’
सबैलाई थाहा भएकै कुरा हो, शक्तिका स्रोतहरु एक होइन, अनेक हुन्छन्, त्यसमध्ये सैन्य बल शक्तिको एउटा प्रमुख स्रोत हो । त्यही शक्तिका लागि मेयर बालेन्द्र साहमा जंङ्गी मोह देखिएको त होइन ?


माधव बस्नेत 



















प्रतिक्रिया दिनुहोस्