images
images
  • बहुविवादित संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभामा टेबुल

    काठमाडौं– संघीय निजामती सेवा सम्बन्धी विधेयक २०८० बुधबार राष्ट्रिय सभामा टेबुल गरिएको छ ।

    राष्ट्रिय सभाको बैठकमा सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित विधेयक पेस गरेका हुन् ।

    विधेयक टेबुल हुनुअघि शून्य समयमा राष्ट्रिय सभा सदस्यहरूले विधेयकमाथि गम्भीर प्रश्न उठाएका थिए ।

    उनीहरूले विधेयक तयार पार्ने क्रममा ‘चलखेल’ भएको भन्दै छानबिनको माग गरेका छन् ।

    सदस्य रुक्मिणी कोइरालाले विधेयक निर्माण प्रक्रियामा अनियमितता भएको दाबी गर्दै त्यसबारे सत्यतथ्य बाहिर ल्याउन सरकारसँग आग्रह गरिन् ।

    यस्तै, सदस्य विष्णुकुमारी सापकोटाले विधेयकमा देखिएका त्रुटि सच्याउनुपर्ने बताउँदै, त्यसमा संलग्नहरूमाथि कारबाही हुनुपर्ने माग राखिन् ।

    सदस्य श्रीकृष्णप्रसाद अधिकारीले विधेयकमा उल्लेख गरिएको ‘कुलिङ पिरियड’ (कार्यकाल बीचको अवकाश अवधि) दुई वर्ष हुने सहमति पहिले भइसकेको भए पनि हालको विधेयकमा त्यसको उल्लंघन भएको भन्दै आपत्ति जनाए ।

    उनले कानुन निर्माण जस्तो संवेदनशील प्रक्रियामा किर्ते कार्य गर्नु गम्भीर अपराध भएको उल्लेख गर्दै छानबिनका लागि संसदीय समिति गठन गरिनुपर्ने बताए ।

    विधेयकप्रति आशंका व्यक्त गर्नेमा अन्य सदस्यहरू पनि सहभागी थिए ।

    उनीहरूले विधेयकको निर्माण प्रक्रियामा पारदर्शिता नभएको आरोप लगाउँदै सत्यतथ्य सार्वजनिक गर्न जोड दिए ।

    अब उक्त विधेयक राष्ट्रिय सभाको सम्बन्धित समितिमा पठाइनेछ र त्यसपछि छलफलका लागि बैठकमा प्रस्तुत गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्

    images