काठमाडौं– आमजनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले संसद्मा प्रस्तुत ‘निजामती सेवा विधेयक’ च्यातेर विरोध जनाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहले उक्त विधेयकलाई गरिबमारा भन्दै तीव्र आपत्ति जनाउँदै प्रतिवादस्वरूप विधेयकको प्रतिलिपि च्यातेका हुन् ।
‘यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ,’ सांसद साहले भने ।
उनको आरोप छ कि विधेयकले तल्लो तहका कर्मचारीको पदोन्नति तथा वृत्ति विकासमा अवरोध पु¥याउने व्यवस्था गरेको छ, जसले निम्न आय वर्ग र सीमान्तकृत समुदायहरूलाई राज्य सेवाबाट पर धकेल्ने खतरा ल्याउँछ ।
‘गरिबको भाग्य र भविष्यमाथि प्रहार गर्ने यो निजामती विधेयक संविधानको मर्मविपरीत छ,’ साहले भने, ‘यदि यो विधेयक पारित भयो भने गरिबका लागि यो कालो दिन सावित हुनेछ। हामी यसलाई कुनै हालतमा स्वीकार्न सक्दैनौं ।’
उनले संविधानमै स्थापित समान अवसरको सिद्धान्तको उल्लंघन गर्दै, विधेयकले समावेशिता, न्याय र सामाजिक न्यायका आधारभूत मूल्यहरूमाथि आघात पुर्याउने चेतावनी पनि दिएका छन् ।




















