images
images
  • सरकारी पुल बेचबिखन काण्डमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक गौतम पक्राउ

    काभ्रे – सरकारी संरचना बेचबिखनको आरोपमा रोशी गाउँपालिका–७ का वडाध्यक्ष अशोक कुमार गौतम पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय काभ्रेको टोलीले उनलाई सोमबार काभ्रे भन्ज्याङबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं सूचना अधिकारी मिनबहादुर घलेले गौतम पक्राउ परेको पुष्टि गर्दै, उनलाई म्याद थप गरेर थप अनुसन्धानको तयारी भइरहेको जानकारी दिए।

    गौतममाथि गत असोजमा बाढीले बगाएको रोशी खोलामा रहेको फलामे पक्की र झोलुङ्गे पुल कबाडी व्यवसायीलाई व्यक्तिगत रूपमा बिक्री गरेको आरोप छ। स्थानीयहरूका अनुसार वडाध्यक्षले सम्बन्धित निकायसँग कुनै समन्वय नगरी एकल निर्णयमा सरकारी संरचना बिक्री गरेपछि आक्रोश चुलिएको हो।

    विशेषतः कटुन्जेबेशीबाट रघुचौर, खार्पाचोक, कालिन्चोक हुँदै वाइबाडाडा जान प्रयोग हुने झोलुङ्गे पुल पनि वडाध्यक्षले बेच्न खोजेको स्थानीयको आरोप छ। पुलको फलाम कबाडीले ट्रकमा लोड गर्न थालेपछि स्थानीय र कबाडीबीच विवाद भएको थियो। विवाद चर्किएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

    प्राप्त सूचनाका आधारमा कटुञ्जे प्रहरी चौकीका प्रमुख सई मनु सापकोटा नेतृत्वको टोलीले रोशी–७, थानसिङ्गबेशीबाट जेठ १२ गते राति पुल लोड भएका दुई ट्रक ९बा ५ ख ४६२६ र बा २ ख ४००१० नियन्त्रणमा लिएको थियो।

    ट्रकसहित कबाडी व्यवसायी मुन्दुकुमार र जितेन्द्र पासवानलाई पनि नियन्त्रणमा लिइएको छ। साथै टिपर चालक काभ्रेको भुम्लु गाउँपालिका–९ का ४७ वर्षीय मानबहादुर तामाङ र रोशी गाउँपालिका–८ का ४० वर्षीय रमेश लामालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका वडाध्यक्ष गौतमले भने उक्त संरचना नमोबुद्ध–६ को समेत समन्वयमा उठाएको दाबी गरेका छन्। तर प्रहरीले घटनाको पूर्ण छानबिनपछि मात्र थप विवरण सार्वजनिक गर्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images