काठमाडौं-साताको पहिलो दिन आइतबार पनि सेयर बजार ओरालो लाग्दै लगातार छैटौं दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार आज परिसूचक २.७९ अंकले घट्दै २६०९ विन्दुमा झरेको छ।
बजारमा गिरावट आए पनि कारोबार रकममा भने उल्लेखनीय वृद्धि भएको देखिन्छ। अघिल्लो दिन ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज त्यो बढेर ८ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। कुल १०० कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १४५ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १ कम्पनीको मूल्य स्थिर रह्यो।
आज सबैभन्दा धेरै वृद्धि देखिएको समूह अन्य हो, जसको परिसूचक ४.१९ प्रतिशतले उकालो लाग्यो। यो वृद्धिको मुख्य कारण नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उच्च वृद्धिलाई मानिएको छ। पुनर्बीमाको मूल्य आज मात्रै ८.४१ प्रतिशतले बढेको छ। त्यस्तै, माइक्रोफाइनान्स समूह १.२२ प्रतिशत र होटल तथा पर्यटन समूह १.११ प्रतिशतले बढेका छन्। बाँकी सबै समूह ओरालो लागेका छन्।
सबैभन्दा धेरै गिरावट व्यापार समूहमा देखिएको छ, जुन २.६८ प्रतिशतले घट्यो। त्यसैगरी, विकास बैंक २.२२, हाइड्रोपावर १.३६, निर्जीवन बीमा ०.८८, जीवन बीमा ०.६७, उत्पादन ०.३४, फाइनान्स ०.४७, लगानी ०.२७ र बैंकिङ समूह ०.१४ प्रतिशतले घटेका छन्।
सेयर मूल्यमा उल्लेखनीय वृद्धि देखाउने कम्पनीहरूमा ओम मेगाश्री फर्मास्युटिकल्स र छ्याङ्दी हाइड्रोपावरले दैनिक सीमा १० प्रतिशतको बृद्धि गरेका छन्। त्यसैगरी, विन नेपाल लघुवित्त ९.५३, बाराही हाइड्रोपावर ७.३२, स्वाभिमान लघुवित्त ६.९८, ओरियन्टल होटल ६ प्रतिशतले उकालो लागेका छन्।
अर्कोतर्फ, सेयर मूल्यमा गिरावट भोगेका कम्पनीहरूमा कर्पोरेट डेभलपमेन्ट बैंक ८.७१, नेपाल माइक्रोइन्स्योरेन्स ७.५३, ग्रिन डेभलपमेन्ट बैंक ६.९४, क्रेस्ट माइक्रोइन्स्योरेन्स ६.८६ र युनिभर्सल पावर ६.१ प्रतिशतले घटेका छन्।
आज सर्वाधिक कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, राधि विद्युत्, युनिभर्सल पावर र हिमालयन रिइन्स्योरेन्स क्रमशः अगाडि रहेका छन्।


विश्व खबर 




















