काठमाडौं – सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०८१’ को दफा १७(क) अनुसार, संस्थाका सञ्चालक समिति सदस्य, आधारभूत शेयरधनीहरू तथा विभागीय प्रमुखहरूलाई लक्षित गर्दै उक्त प्रशिक्षण आयोजना गरिएको हो।
काठमाडौँस्थित याक एन्ड यति होटलमा सम्पन्न कार्यक्रममा बीमा प्राधिकरणका निर्देशक शम्भु राज लामिछाने र उप–निर्देशक सविता थापाले प्रशिक्षण दिएका थिए। उनीहरूले वित्तीय संस्थामार्फत हुन सक्ने सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापको जोखिम र त्यसको व्यवस्थापनबारे व्यापक जानकारी दिएका थिए।
प्रशिक्षणमा सम्बन्धित ऐन, नियमावली तथा निर्देशनअनुसार संस्थाले अपनाउनुपर्ने नीति, कार्यविधि, नियन्त्रण प्रणाली, जनशक्ति व्यवस्थापन, स्रोत परिचालन तथा सञ्चालक समितिको भूमिका र दायित्वबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको समापन समारोहमा बोल्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले सम्पत्ति शुद्धिकरणविरुद्धका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास र त्यसका आधारमा बनाइएका कानुनी व्यवस्थाहरू प्रति कम्पनी प्रतिवद्ध रहेको बताए।
त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणको महत्त्वमा प्रकाश पार्दै, कम्पनीका सम्पूर्ण तहमा यससम्बन्धी कानुनी निर्देशिकाको कडाइका साथ पालना गरिने स्पष्ट बताए।
नेपाल सरकारले सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ जारी भएको स्मरण गर्दै, हरेक वर्ष माघ १४ गतेलाई ‘सम्पत्ति शुद्धिकरण निवारण दिवस’का रूपमा मनाउने निर्णय गरेको उल्लेख पनि कार्यक्रममा गरिएको थियो।






















