काठमाडौं – अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले फोनपे (Fonepay) को सहकार्यमा नविनतम ‘स्क्यान टु क्यास’ (Scan2Cash) अन्तर बैंक सेवा सुरु गरेको छ। नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक अगाडि आएको हो।
यस सेवाअन्तर्गत ग्राहकहरूले कुनै पनि बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टेलर काउन्टरमा क्यूआर कोड स्क्यान गरेर सहज रूपमा नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यो सेवा बैंकको दरबारमार्ग र थापाथली शाखाबाट सुरु गरिएको हो, र छिट्टै अन्य शाखाहरूमा समेत विस्तार गरिने बैंकले जनाएको छ। यो सुविधाले चेक वा एटीएम कार्डको प्रयोगमार्फत नगद झिक्ने परम्परागत विधिलाई प्रतिस्थापन गर्दै थप सहजता ल्याउने विश्वास बैंकले लिएको छ।
डिजिटल नवप्रवर्तनप्रति प्रतिबद्धता जनाउँदै बैंकले यसअघि नै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सहकार्यमा ‘अलिपे प्लस’ (Alipay +) नेटवर्कमार्फत क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा सुरु गरिसकेको छ। यसमार्फत चीन, सिंगापुर, दक्षिण कोरिया लगायत देशबाट आएका पर्यटकहरूले नेपाल पे क्यूआर (NEPALPAY QR) स्क्यान गरी आफ्नै देशको डिजिटल वालेट प्रयोग गरेर सजिलै भुक्तानी गर्न सक्नेछन्।
यस्तै, बैंकले ग्राहकलाई अत्याधुनिक र उपयोगमैत्री डिजिटल अनुभव दिने उद्देश्यले आफ्नो मोबाइल एप्लिकेसन परिष्कृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको छ। यो एपमार्फत बैंकिङ्ग सेवा अझ सहज, सुरक्षित र प्रभावकारी हुने बैंकको अपेक्षा छ।






















