काठमाडौं-यती एयरलाइन्स लिमिटेडको सेयर खरिदमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक, अध्यक्ष तथा प्रभावशाली लगानीकर्ताहरूले संस्थागत डिलको आडमा व्यक्तिगत लाभ उठाएको तथ्य खुलेको छ । बीमा क्षेत्रको नियामक संस्था बीमा समितिबाट अनुमति लिएर भएको सेयर खरिद प्रक्रिया संस्थागत नभई ‘आन्तरिक घेराको लाभ’ मा सीमित भएको देखिएको छ। सार्वजनिक हितमा प्रतिबद्ध संस्था भनिने एसियन लाइफ इन्स्योरेन्स कम्पनीको स्रोत र संरचनालाई केही व्यक्ति र उनीहरूका निकटका परिवारजनका स्वार्थ पूर्तिका लागि प्रयोग गरिएको देखिन्छ ।
संकटग्रस्त यती एयरलाइन्समा एसियन लाइफको आगमन
यती एयरलाइन्स लामो समयदेखि शेर्पा परिवार (यती समूह) को एकल स्वामित्वमा सञ्चालित हुँदै आएको थियो । तर २०७५ सालमा संस्थापक आङछिरिङ शेर्पाको निधन र त्यसपछिको कोभिड महामारीका कारण कम्पनी गम्भीर आर्थिक संकटमा फस्यो ।
यतीका वर्तमान नेतृत्वकर्ता लाक्पा सोनाम शेर्पाले कम्पनीको पुनःस्थापनाका लागि निजी स्वामित्वबाट सार्वजनिक कम्पनी बनाउने निर्णय लिए र रणनीतिक साझेदारको खोजीमा लागे । त्यसै क्रममा एसियन लाइफ इन्स्योरेन्ससँग १७० रुपैयाँ प्रति सेयरको दरमा यतीको सेयर खरिद सम्झौता भयो। बीमा समितिबाट समेत स्वीकृति लिएर उक्त सेयर खरिद बिक्री प्रक्रिया अगाडि बढाइयो ।
सेयर खरिद प्रक्रिया: मूल्य कम, स्वार्थ धेरै
यद्यपि, लिखित सम्झौताअनुसार १७० रुपैयाँमा सेयर खरिद गर्ने भनिए पनि वास्तविक लेनदेन भने प्रति सेयर १२४ रुपैयाँ ८२ पैसामा भएको देखिन्छ । यो मूल्य घटाउने प्रक्रिया कसको निर्देशन र उद्देश्यमा भएको थियो भन्ने विषय स्पष्ट भइसकेको छैन । तर मूल्यमा गरिएको हेरफेरबाट प्राप्त ‘कमीशन’ रकमको प्रयोग व्यक्तिगत सेयर खरिदमा भएको पक्कापक्की प्रमाणले गम्भीर अनियमितताको सङ्केत गर्छ ।
बीमा समितिमा पेश गरिएको प्रस्ताव अनुसार एसियन लाइफले यतीको ४९ प्रतिशत सेयर खरिद गर्ने भनिएको थियो । तर कम्पनी रजिष्ट्रारको २०८० माघको अभिलेखअनुसार कम्पनीले ४६.८२ प्रतिशत (१ करोड २५ लाख कित्ता) सेयरमात्र खरिद गरेको देखिन्छ। यती एयरलाइन्सको कुल सेयर २ करोड ६६ लाख ९८ हजार ५ सय कित्ता छ ।
सञ्चालक, लगानीकर्ता र निकटका व्यक्तिको स्वार्थ मिलेमतो
सेयर खरिदमा अस्वाभाविक मिलेमतोमा एसियन लाइफका अध्यक्ष दीपककुमार श्रेष्ठ, सञ्चालक तथा ठूला लगानीकर्ता राजेशलाल श्रेष्ठ र तिनीहरूका परिवारका सदस्य तथा निकटवर्तीहरूको स्वामित्वमा रहेको ग्रो क्यापिटल प्रा.लि. नामक कम्पनीले यती एयरलाइन्सको ७ लाख ९९ हजार १ सय कित्ता सेयर प्राप्त गरेको छ ।
ग्रो क्यापिटलमा अध्यक्ष श्रेष्ठका छोरा डेविन श्रेष्ठ र राजेशलाल श्रेष्ठकी पत्नी राजेश्वरी श्रेष्ठले ५०–५० प्रतिशत सेयर स्वामित्व राखेका छन् । यो कम्पनीमा यतीको सेयर हस्तान्तरण माघ २५ गते भएको हो भने त्यसको सेयर लगत अपडेट चैत ४ गते गरिएको छ। यसले लेनदेनपछि लगत फेर्ने नियत देखाउँछ ।
यसैगरी, यतीका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाकी श्रीमती अलिशा घिमिरेको नाममा १०० कित्ता सेयर, राजेशलाल श्रेष्ठकी छोरी रेष्मा श्रेष्ठको नाममा १० कित्ता सेयर, र निषेश श्रेष्ठ, सुशान्त हाडा, परिना प्रधान, प्रसिद्ध बैद्य, सजल मास्के, आँचल मास्के, कृष्णप्रसाद ओझाजस्ता व्यक्तिका नाममा पनि ‘टोकन सेयर’ हस्तान्तरण गरिएको छ ।
उल्लेखनीय कुरा, सजल मास्के एसियन लाइफका पूर्व सञ्चालक हुन् भने आँचल मास्के उनका छोरी हुन् । सजलका बुबा विष्णुहरि मास्के पनि बीमा क्षेत्रमा प्रभावशाली व्यक्ति रहिआएका छन् ।
सेयर खरिदको ढाँचा नै स्वार्थ निर्देशित ?
एसियन लाइफको नाममा यतीको सेयर खरिद भएको देखिए पनि त्यसको वास्तविक प्रतिफल व्यक्तिगत कम्पनीहरू र व्यक्तिहरूको फाइदामा प्रयोग गरिएको छ । यसका लागि संस्थागत रकम प्रयोग गरिँदै व्यक्तिगत फाइदाका लागि ग्रो क्यापिटलमार्फत सेयर खरिद गरिएको देखिन्छ ।
एसियन लाइफका सीईओ दिनेशलाल श्रेष्ठ यतीको सञ्चालक समितिमा पठाइएको छ भने अध्यक्ष दीपककुमार श्रेष्ठ स्वयं ग्रो क्यापिटलको तर्फबाट यतीको बोर्ड सदस्य भएका छन् । ग्रो क्यापिटलमा अध्यक्ष श्रेष्ठकै छोरा डेविन श्रेष्ठको ५० प्रतिशत सेयर रहेको हुँदा यसले प्रत्यक्षरूपमा हितको द्वन्द्व पुष्टि गर्छ ।
सार्वजनिक हितमा खतरा: ४९% सर्वसाधारणको लगानी जोखिममा
एसियन लाइफको कुल चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीमा ५१ प्रतिशत संस्थापक सेयरधनी र ४९ प्रतिशत सर्वसाधारण लगानीकर्ता छन् । यती एयरलाइन्सको आगामी आईपीओ तयारी हुँदै गर्दा यस्तो ढंगले संस्थागत रकमबाट सञ्चालकहरूको परिवार र आफन्तलाई लाभ दिलाउने कार्यले बीमा कम्पनीप्रतिको सर्वसाधारणको विश्वासमा आघात पुर्याएको छ ।
यो डिलमा अन्य संस्थापक तथा साना सेयरधनीहरूलाई समेत अन्धकारमा राखिएको देखिन्छ । संस्थागत निर्णयको आडमा गरिएको निजी लाभ, नियामकको मौनता, र पारदर्शिताको पूर्ण अभावले सम्पूर्ण बीमा क्षेत्रकै विश्वसनीयता गम्भीर संकटमा पारेको छ ।
छानबिनको माग र नियामकको उत्तरदायित्व
सार्वजनिक कम्पनीहरूमा पारदर्शिता, उत्तरदायित्व र हित संरक्षण अत्यावश्यक हुन्छ । तर यहाँ एसियन लाइफ इन्स्योरेन्स कम्पनीका शीर्ष तहका पदाधिकारीहरूले नीति, नियम र नैतिकताको ठाडो उल्लङ्घन गर्दै संस्थागत निर्णयमार्फत निजी कम्पनीमा सेयर स्थानान्तरण गरेका छन् । यो प्रक्रिया बीमा ऐन, कम्पनी ऐन र मूल्य पत्र बोर्डको नियम विपरीत मात्र नभई सार्वजनिक ट्रस्टमा पनि गम्भीर आघात हो ।


विश्व खबर 




















