काठमाडौं-नेपाल राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकका सिइओ अजय बिक्रम साहलाई नसिहत दिएको छ ।
कर्जा राष्ट्र बैंकको निर्देशन पालना नगरेको, बैंकको संस्थापक सेयरधनीलाई निर्देशनविपरीत गएर कर्जा सुविधा उपलब्ध गराएको लगायत कसुरमा नसिहत दिएको छ ।
योसँगै बैंकले कर्जा वर्गीकरण नगरेको, खराब कर्जाअनुसार कर्जा नोक्सानी व्यवस्थापन पर्याप्त नगरेकालगायतका कसुरमा बैंकलाई कारबाही गरेको छ ।लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको छ । उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आइरहेकोमा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
लक्ष्मी सनराइज बैंकले कर्जा नीति एवं कर्जाका प्रोडक्ट पेपरहरूको व्यवस्थाको अपव्याख्या गरी चालु पुँजी प्रकृतिको कर्जाका लागि लामो समयावधिको आवधिक कर्जा प्रदान गरेको पाइएको थियो ।
नीतिगत व्यवस्था रहेका कर्जाका प्रोडक्ट पेपरहरू सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेमा प्रमुख कार्यकारी अधिकृतबाट नै स्वीकृत गर्ने गरिएको तथा चालु पुँजी कर्जाका लागि ब्रिज ग्याप कर्जा प्रदान गरी लामो समयपश्चात् उक्त कर्जालाई आवधिक कर्जामा परिणत गर्ने गरिएको हुँदा कर्जा जोखिम व्यवस्थापनमा बैंक गम्भीर नरहेको पाइएपछि कारबाही गरेको जनाएको छ ।






















