काठमाडौं-नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य बैंकका सिइओ देबेन्द्ररमण खनाललाई सचेत गराएकाे छ ।
कर्जा नोक्सानी व्यवस्थापनसँगै राष्ट्र बैंकले कडाइ गरेको कर्जा वर्गीकरणमा बैंकहरूले बेवास्ता गर्दै निष्क्रिय कर्जा पनि सक्रिय कर्जामा वर्गीकरण गर्ने पाइएपछि राष्ट्र बैंकले बैंकहरूलाई कारबाही गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार केही कर्जाहरूलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जाहरूलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।
त्यस्तै, केही कर्जाहरूको जोखिम भार गणना गर्दा क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भार गणना नगरेको तथा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाहरूको पूर्ण पालना गरेको नपाइएकोले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।






















