काठमाडौं । एनएमबि बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा गोविन्द घिमिरे नियुक्त भएका छन् । पूर्व सिइओ सुनिल केसीको कार्यकाल समाप्त भएपछि आज (बुधबार)देखि घिमिरेले कार्यभार सम्हालेका हुन् ।
तीन दशकभन्दा बढीको बैंकिङ अनुभव भएका घिमिरे १६ वर्षदेखि एनएमबि बैंकमा आबद्ध छन् । उनी यसअघि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
बैंकका अनुसार व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण तथा सञ्चालन सुधार जस्ता क्षेत्रमा घिमिरेको महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।
बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एनएमबि बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउने, प्रविधिमा आधारित सेवा विस्तार गर्ने र दिगो बैंकिङ अभ्यासलाई अघि बढाउने काममा उहाँको सक्रिय भूमिका रहेको छ । उहाँको अनुभवले बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा डोर्याउने हाम्रो विश्वास छ ।’
नयाँ जिम्मेवारी सम्हाल्दै सिइओ घिमिरेले नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा प्राथमिकता केन्द्रित रहने बताएका छन् । ‘डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं,’ घिमिरेले भने ।
त्यसैगरी, बैंकले सुदेश उपाध्यायलाई नायब प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति दिएको छ । स्वदेशी तथा विदेशी बैंकहरूमा कार्यानुभव प्राप्त उपाध्याय अन्तर्राष्ट्रिय व्यापार, सम्बन्ध तथा बैंकिङ व्यवसायमा गहिरो समझ भएका अनुभवी बैंकर मानिन्छन् । आजदेखि उनले पनि आफ्नो नयाँ जिम्मेवारी सम्हालेका छन् ।






















