images
images
  • ६५ प्रतिशतले बढ्यो निर्यात, ९ महिनामा दुई खर्ब नजिक

    काठमाडौं : आर्थिक वर्ष २०८१/८२ को ९ महिनामा निर्यात ६५ प्रतिशतले बढेर करिब दुई खर्बनजिक पुगेको छ।

    भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैत मसान्तसम्म निर्यात ६५.१६ प्रतिशतले बढेर एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख पुगेको छ। गत वर्ष यही अवधिमा एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको निर्यात भएको थियो।

    सबैभन्दा धेरै हिस्सा प्रशोधित खाने तेलको छ। कुल निर्यातमा खाने तेलको हिस्सा ३८ प्रतिशत छ। विभागका अनुसार नौ महिनामा ७४ अर्ब २८ करोड रुपैयाँको भटमास, सनफ्लावर र पाम तेल निर्यात भएको छ।

    त्यस्तै १७ अर्ब ४६ करोड रुपैयाँको धागो, ११ अर्ब ९५ करोड रुपैयाँको फलाम तथा फलामजन्य वस्तु, १० अर्ब ७४ करोड रुपैयाँ बराबरको चिया कफी तथा अन्य मसला निर्यात भएका छन्। यस्तै नौ अर्ब ३० करोड रुपैयाँको गलैँचा र ६ अर्ब २५ करोड १२ लाख ६१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images