images
images
  • ऊर्जामन्त्रीद्वारा प्रयोग गरिएका वरिष्ठ ऊर्जाविज्ञ प्रबल अधिकारीको राजीनामा

    काठमाडौं-ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने क्रममा प्रयोग गरेका वरिष्ठ ऊर्जाविज्ञ सल्लाहकार प्रबल अधिकारीले आफूलाई पनि हटाउने तयारी भएको थाहा पाएपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्।

    अधिकारीले आगामी १ वैशाखदेखि लागू हुने गरी राजीनामा दिइसकेका छन्। उनले मंगलबार सामाजिक सञ्जालमार्फत राजीनामा सार्वजनिक गर्दै आफ्नो निर्णय ‘निजी’ र ‘स्वेच्छिक’ भएको जनाए।

    सामाजिक सञ्जालमार्फत घोषणा

    राजीनामा सार्वजनिक गर्दै अधिकारीले लेखेका छन्, “ऊर्जा मन्त्रालयको दैनिकीबाट मैले संघारमा आइपुग्दै गरेको नयाँ वर्षको सुरुवातसँगै विश्राम लिएको छु। नयाँ वर्षमा नयाँ बाटो हिँड्नुप¥यो भनेर आफैँले पुरानो बाटोबाट मोडिन खोजेको हुँ। यसमा कसैसँग सिकायत पनि छैन, गुनासो पनि छैन।”

    तर स्रोतहरूका अनुसार, राजीनामाको कारण पछिल्लो घटनाक्रममा मन्त्री खड्काको व्यवहारप्रति असन्तुष्टि हो। घिसिङलाई हटाउने क्रममा प्रयोग गरिएपछि आफूलाई पनि पदबाट हटाउने तयारी हुँदै गर्दा उनले राजीनामा बुझाएका हुन्।

    प्रयोगपछि बेवास्ता ?

    ऊर्जामन्त्री खड्काले कुलमान घिसिङविरुद्धको अभियानमा अधिकारीलाई सक्रिय रूपमा प्रयोग गरेको स्रोतहरू बताउँछन्। उनी विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक समेत हुन् र कार्यकारी निर्देशक घिसिङसँगको राम्रो सम्बन्धका बाबजुद मन्त्रीका योजनामा संलग्न भएका थिए।

    “कुलमानलाई हटाउने रणनीतिमा अधिकारीलाई सल्लाहकारका रूपमा प्रयोग गरिएको थियो,” स्रोतले भन्यो, “तर कुलमान हटाइएपछि उनलाई पनि पदच्युत गर्ने तयारी भएको थाहा पाएपछि उनी असन्तुष्ट बने र राजीनामा दिए।”

    नेतृत्व परिवर्तनपछि असन्तुष्टि चुलियो

    ११ चैतमा कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेपछि अधिकारीको असन्तुष्टि गहिरिएको बताइएको छ। अधिकारीले आफू कार्यकारी निर्देशक बन्ने आशा राखेका थिए, तर त्यो पूरा नभएपछि उनको मनोबल घटेको स्रोतको दाबी छ।

    ऊर्जा क्षेत्रमा सक्रिय रहने घोषणा

    राजीनामाको अन्त्यमा उनले भविष्यमा पनि ऊर्जा क्षेत्रमै सक्रिय रहने जनाएका छन्। “ऊर्जा प्रकृतिको अनुपम कृति हो। त्यसका लागि मेरो लगाव र सिर्जनशीलता निरन्तर प्रवाहित हुनेछ,” अधिकारीले लेखेका छन्, “नेपाली ऊर्जा क्षेत्र राज्य र निजी क्षेत्रको सहकार्यमा मात्र सफल हुन्छ भन्ने मेरो विश्वास यथावत् छ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images