काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सङ्घीयतालाई थप बलियो, व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रियस्तरमा व्यापक बहस र राजनीतिक सहमति आवश्यक रहेको बताएका छन् । रास्वपाका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले सोमबार जनकपुरधामस्थित जानकी मन्दिरबाट सुरु गरेको मेची–महाकाली पदयात्राको शुभारम्भ गर्दै लामिछानेले सङ्घीय संरचनालाई नागरिकमैत्री बनाउन आफ्नो पार्टीले राष्ट्रिय बहस अघि बढाउने तयारी गरिरहेको बताए ।
उनले सङ्घीयताको मर्मअनुसार प्रदेश संरचनालाई व्यवस्थित गर्दै तीनै तहका सरकारलाई अधिकार सम्पन्न र जिम्मेवार बनाउनुपर्ने धारणा राखे । सङ्घीयता कुनै एउटा राजनीतिक दलको मात्रै विषय नभई मुलुकको शासन व्यवस्था र नागरिकको अधिकारसँग जोडिएको विषय भएकाले सबै राजनीतिक दलबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ थियो । ‘सङ्घीयतालाई बलियो बनाउन र प्रदेश संरचनालाई व्यवस्थित गर्न हाम्रो पार्टीले छलफल चलाइरहेको छ,’ लामिछानेले भने, ‘सबै राजनीतिक दलसँग सहकार्य गरी सहमतिका आधारमा सङ्घीयतालाई बलियो बनाउने सुधारका काम अघि बढाउँछौँ ।’
उनले मुलुकको समग्र विकास र सुशासनका लागि तीनै तहका सरकार सक्षम र प्रभावकारी हुनुपर्नेमा जोड दिए । विशेषगरी स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाएर नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा सेवा प्रवाह प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो । कानुनी तथा संरचनागत सुधारमार्फत नागरिकलाई वास्तविक अर्थमा अधिकारसम्पन्न बनाउन रास्वपा प्रतिबद्ध रहेको उल्लेख गर्दै लामिछानेले मधेस प्रदेशका समस्या, आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर काम गर्नुपर्ने बताए ।
राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहकार्यलाई मजबुत बनाउन मेची–महाकाली पदयात्राले सकारात्मक सन्देश दिने विश्वास पनि उनले व्यक्त गरे । यात्राले हिमाल, पहाड र तराईका नागरिकलाई भावनात्मक रूपमा जोड्दै राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उनको भनाइ थियो । पदयात्रा अभियन्ता सिंहले सामाजिक सद्भाव कायम राख्ने, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने र आम नागरिकले भोगिरहेका समस्या नजिकबाट बुझ्ने उद्देश्यले अभियान सुरु गरिएको बताए ।
उनले यात्राका क्रममा मुलुकको वर्तमान अवस्था, नागरिकका अपेक्षा र विभिन्न क्षेत्रका समस्याबारे प्रत्यक्ष जानकारी लिने अवसर प्राप्त हुने विश्वास व्यक्त गरे । उनका अनुसार पदयात्रा भौगोलिक दूरी पार गर्ने अभियान मात्र नभई हिमाल, पहाड र तराईका नागरिकबीच आपसी सम्बन्ध, सद्भाव र एकताको सन्देश प्रवाह गर्ने माध्यम पनि हो । सिंहले यात्राका क्रममा दैनिक २० देखि २५ किलोमिटरसम्म पैदल हिँड्ने जानकारी दिए । जानकी मन्दिरबाट सुरु भएको यात्रामा मधेससहित देशका विभिन्न भूभागका नागरिकसँग प्रत्यक्ष संवाद तथा अन्तरक्रिया गरिने जनाइएको छ ।






















