प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको माग सरकारले सम्बोधन गर्ने बताएका छन् । सोमबार काठमाडौँमा आयोजित हिमालयन संवादमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले देशमा भइरहेको आन्दोलन, आगजनी तथा तोडफोडका घटनाले देश अझै संक्रमणकालमै रहेको देखाउने बताए । उनले विभिन्न विचारका समूहमा विरोधाभास देखिएको भन्दै संविधानप्रति इमान्दारिताको कमी देखिएको बताए । उनले पछिल्लो समय आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरे । शिक्षकहरूको जायज माग सम्बोधन गर्न सरकार तयार रहेकाले आन्दोलनको आवश्यकता नभएको उनको भनाइ छ ।
उनले भने, ‘अहिले शिक्षक आन्दोलन चलेको छ । किन चलाउनुभएको मलाइ थाहा भएन । म प्रधानमन्त्री छु । म भनिराख्या छु, जायज माग लिएर कोही आउँदाखेरि आन्दोलन गर्नुपर्दैन हामी त्यसको समाधान दिन्छौँ । हामी त्यसलाई सम्बोधन गर्न तयार छौँ । दुःख पाउनुपर्दैन सडकमा गएर सुत्नै पर्दैन । आउनुस् कुराकानी गरेर त्यसलाई समाधान गरौँ ।’
प्रधानमन्त्री ओलीले लोकतन्त्रमा आन्दोलन गरेर सरकारसमक्ष आफ्ना माग राख्ने अधिकार भएपनि अनावश्यक आन्दोलन उचित नभएको बताए ।























