विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको ४.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । आन्तरिक व्यापार बढ्दो, हाइड्रोपावर उत्पादन बढ्ने र धान उत्पादन वृद्धिले नेपालको आर्थिक वृद्धि साढे ४ प्रतिशत हुने अनुमान गरेको हो ।
आर्थिक वर्ष २०२४ मा ३.९ प्रतिशतमै सीमित रहने उल्लेख गरेको विश्व बैंकले सेवा क्षेत्रमा आएको सुधारले २०२६ र ०२७ मा ५.४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । राष्ट्रिय तथ्यांक कार्यलयले चालू आर्थिक वर्षको ६ महिनामा ५.१ प्रतिशत वृद्धि हुने भएको उल्लेख गरेको छ ।
विश्व बैंकले पछिल्लो ६ महिनामा वास्तविक कुल गार्हस्थ्य उत्पादन ४.९ प्रतिशतले बढेको उल्लेख गरेको छ । अघिल्लो वर्षको ६ महिनामा ४.३ प्रतिशतले सीमित थियो ।
नेपालको बाढी र पहिरोले पूर्वाधार, कृषि, सामाजिक सेवा प्रभावित हुँदा ०.८ प्रतिशत कुल गार्हस्थ्य उत्पादनमा असर गरेको विश्व बैंकको दाबी छ । त्रिभुवन विमानस्थल विस्तार गर्दा हवाइ टिकटको मूल्य बढ्दा पर्यटन क्षेत्र नै प्रभावित बनेको छ ।
नेपालको मुद्रास्फीति राष्ट्र बैंकले तोकेको सिलिङभित्रै रहेको उल्लेख छ । २०२४ को ६ महिनामा ६.५ प्रतिशतसम्म मुद्रास्फीति रहेकोमा ५ प्रतिशतमा सीमित रहेको उल्लेख गरेको छ ।
मूल्यवृद्धि कम हुनुमा गैर खाद्यवस्तु र सेवा, हाउजिङ, रेस्टुरेन्टको मूल्य घट्दा मुद्रास्फीति नियन्त्रण गर्न सहज भएको जनाएको छ ।
६ महिनामा खाद्यान्न, पेयपदार्थको ७.५ प्रतिशत र तरकारीजन्य वस्तुको २६.६ प्रतिशत मुद्रास्फीति भएको उल्लेख गरेको छ ।


विश्व खबर 




















