नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसाबले सफल भएको बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सचिव भट्टराईले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसद्ले पास गरेको यो विगतको तुलनामा महत्त्वपूर्ण उपलब्धि रहेको बताए । उनले विधायिकी कामको हिसाबले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताए । उनले सरकारले पनि केही महत्त्वपूर्ण विधेयकहरू हिउँदे अधिवेशनमा प्रस्तुत गरेको र महत्त्वपूर्ण रहेको बताए ।
सचिव भट्टराईले भन्नुभयो, ‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरू संसद्ले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्त्वपूर्ण उपलब्धि हो । संसद् आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसाबले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन ।’
सचिव भट्टराईले प्रधानमन्त्रीले ४÷४ पटक संसद्लाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसद्लाई विशेष महत्त्व दिएको पाएको पनि बताए । हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको उनले बताए । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको उनले बताए ।























