राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारले तीनकुनेको घटना लुकाएझैँ पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्ने भ्रम पैदा गरेको आरोप लगाएका छन् । मंगलबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेसँगको भेटका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
पर्साको विलम्बलाई कसरी हेर्नुभएको छ भन्ने प्रश्नमा सभापति लामिछानेले तीनकुनेको घटना झैँ सबै नाङ्गो भइसकेपछि पनि सरकार ढाकछोप गरेका छौँ भनेर बसिरहेको टिप्पणी गरे । उनले पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको आरोप लगाए । उनले जनप्रतिनिधिका लागि सर्वोच्च निकाय संसद् भएकाले संसदमा आफ्नो उपस्थिति हुन दिनका लागि सभामुखसँग भेटघाट गरेको बताए । संसद्को विषय संसदबाट नै निवारण गरौँ भन्ने अभिप्रायका साथ आफूले सभामुख घिमिरेसँग भेट गरेको उनले बताए ।
सभापति लामिछानेले भने, ‘ संसद्को विषय संसदबाट नै निवारण गरौँ भन्ने मेरो अभिप्राय हो । म कति ठाउँमा मुद्दा लड्नु भन्ने ठानेर यहाँ नै अपिल गरेको थिएँ । तर एउटा कुरामा सभामुख के सही हुनुभयो भने यसले भोलि प्रतिशोधको रूप लिन्छ है, भोलि यो हतियार प्रयोग गरेर सरकारको संख्या नै तलमाथि हुनसक्ने सम्भावना हुन्छ भन्नुभयो । मैले उहाँलाई त्यसो भए आज सदनमा छलफल गरौँ न ।’
सभापति लामिछानेले आफू अदालती प्रक्रियाको सम्मान गर्दै सबै मुद्दा टुंगिउन् भन्ने उद्देश्यले केही समय राजनीतिक कार्यक्रमहरूमा नदेखिएको बताए । पर्साको विषयमा सरकारले आफूमाथि हतियारको रूपमा प्रयोग गरिरहेको जिकिर गरे । उनले तीनकुने घटना पनि सरकारको तर्फबाटै भएको टिप्पणी गरे । उनले सबैकुरा देखिसकेपछि सरकार घटना छोप्न लागेझैँ पर्साको आफ्नो विषयमा छोप्ने प्रयासमा लागेको बताए ।























